+
Search

ताजा अपडेट +

पपुलर +

महालेखापरीक्षकको ६३ औँ प्रतिवेदन:

स्थानीय तहमा एकै वर्षमा थपियो १९ अर्ब बेरुजु, २६८ पालिकाले गरेनन् आन्तरिक लेखापरीक्षण

स्थानीय तहमा एकै वर्षमा थपियो १९ अर्ब बेरुजु, २६८ पालिकाले गरेनन् आन्तरिक लेखापरीक्षण
पालिका लाइभ
२०८३ जेष्ठ १, शुक्रबार

काठमाडौं- स्थानीय तहहरूमा आर्थिक अनुशासन र वित्तीय सुशासनको अवस्था कमजोर बन्दै गएको तथ्य सार्वजनिक भएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनले स्थानीय तहहरूमा बेरुजु, अनियमित खर्च, आन्तरिक लेखापरीक्षणको अभाव र वित्तीय प्रणालीमा कमजोरी बढ्दो अवस्थामा रहेको देखाएको हो ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै स्थानीय तहहरूमा १९ अर्ब ४ करोड ७७ लाख रुपैयाँ नयाँ बेरुजु थपिएको छ । यो बेरुजु रकम देशभरका ७२१ स्थानीय तहको लेखापरीक्षणबाट देखिएको हो । महालेखाले ४ महानगरपालिका, १० उपमहानगरपालिका, २६१ नगरपालिका र ४४६ गाउँपालिका गरी कुल ७२१ स्थानीय तहको लेखा परीक्षण गरेको जनाएको छ ।

महालेखाको तथ्याङ्कअनुसार ७२१ स्थानीय तहको कुल ११ खर्ब ९ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार परीक्षण गर्दा १.७२ प्रतिशत रकम बेरुजु देखिएको हो । प्रारम्भिक लेखापरीक्षणका क्रममा २१ अर्ब ४७ करोड रुपैयाँ बेरुजु देखिएको भए पनि ५०२ स्थानीय तहले प्रमाण तथा कागजात पेस गरेपछि ८० करोड १४ लाख रुपैयाँ फर्स्योट भएको र अन्तिम बेरुजु १९ अर्ब ४ करोड रुपैयाँ कायम भएको प्रतिवेदनमा उल्लेख छ ।

महालेखाले स्थानीय तहहरूमा सबैभन्दा बढी समस्या प्रक्रिया नपुर्‍याई गरिएको खर्चमा देखिएको जनाएको छ । प्रतिवेदनअनुसार कुल बेरुजुमध्ये १५ अर्ब १८ करोड ९४ लाख रुपैयाँ ‘नियमित गर्नुपर्ने’ शीर्षकमा रहेको छ । यसअन्तर्गत खर्च गर्दा आवश्यक प्रक्रिया पूरा नगर्ने, प्रमाण कागजात नपुग्ने वा कानुनी आधार कमजोर हुने समस्या देखिएको हो ।

त्यस्तै, असुल गर्नुपर्ने अर्थात् हिनामिना वा अनियमित रूपमा खर्च भएको रकम २ अर्ब १ करोड ३३ लाख रुपैयाँ रहेको छ भने पेस्की बाँकी रकम १ अर्ब ८४ करोड ५० लाख रुपैयाँ पुगेको छ । यसले स्थानीय तहहरूमा आर्थिक नियन्त्रण र अनुगमन प्रभावकारी हुन नसकेको देखाएको छ ।

नयाँ थपिएको बेरुजुसहित स्थानीय तहहरूको कुल अद्यावधिक बेरुजु २२ अर्ब ४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । गत वर्षसम्म स्थानीय तहहरूको बाँकी बेरुजु २० अर्ब ९२ करोड ८९ लाख रुपैयाँ रहेकोमा चालु वर्ष ७ अर्ब ८६ करोड रुपैयाँ मात्रै सम्परीक्षण भएको प्रतिवेदनमा उल्लेख छ ।

महालेखाको तथ्याङ्कअनुसार अधिकांश स्थानीय तहको बेरुजु अनुपात ५ प्रतिशतभन्दा कम रहेको छ । ६८१ वटा स्थानीय तहको बेरुजु ५ प्रतिशतभन्दा कम देखिएको छ भने ५ देखि १५ प्रतिशतसम्म बेरुजु हुने स्थानीय तहको सङ्ख्या ३९ रहेको छ । एउटा स्थानीय तहमा भने १५ प्रतिशतभन्दा बढी बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले स्थानीय तहहरूले कानुनविपरीत अबण्डा बजेट राखेर खर्च गर्ने प्रवृत्ति अझै कायम रहेको औँल्याएको छ । स्थानीय सरकार सञ्चालन ऐनविपरीत २१९ वटा स्थानीय तहले ७ अर्ब ५६ करोड ७४ लाख रुपैयाँ शीर्षक नतोकी अबण्डा बजेट राखी आफूखुसी बाँडफाँट गरेर खर्च गरेको महालेखाले जनाएको छ ।

त्यस्तै, कानुनअनुसार प्रत्येक स्थानीय तहले नियमित रूपमा आन्तरिक लेखापरीक्षण गराउनुपर्ने भए पनि २६८ स्थानीय तहले यस्तो लेखापरीक्षण नै नगराएको तथ्य सार्वजनिक भएको छ । यसलाई महालेखाले वित्तीय अनुशासनमा गम्भीर कमजोरीका रूपमा व्याख्या गरेको छ ।

प्रतिवेदनले बैंक मौज्दात र स्रेस्ताबीच ठूलो अन्तर रहेको विषय पनि औँल्याएको छ । ९० वटा स्थानीय तहमा स्रेस्तामा देखिएको रकमभन्दा बैंक खातामा ५४ करोड ४९ लाख रुपैयाँ कम मौज्दात देखिएको छ । कतिपय स्थानीय तहले बैंक हिसाब र स्रेस्ता मिलानसमेत नगरेको पाइएको महालेखाले जनाएको छ ।

स्थानीय तहहरूको सम्पत्ति व्यवस्थापनसमेत कमजोर देखिएको छ । २२१ वटा स्थानीय तहले वर्षान्तमा जिन्सी निरीक्षण नगरेको तथा २९३ वटा स्थानीय तहले सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली प्रयोग नगरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, १७७ स्थानीय तहले भुक्तानीका क्रममा काटिएको कर रकमसमेत सम्बन्धित खातामा दाखिला नगरी आफैँले राखेको पाइएको छ । यस्तो रकम १३ करोड ३० लाख रुपैयाँ रहेको महालेखाले जनाएको छ ।

महालेखाले स्थानीय तहहरूको राजश्व संकलन प्रणाली अझै व्यवस्थित हुन नसकेको, कानुनविपरीत कर छुट दिने प्रवृत्ति रहेको तथा वित्तीय पारदर्शिता र जवाफदेहिता कमजोर बनेको उल्लेख गर्दै सुधारका लागि आवश्यक कदम चाल्न सरकार र स्थानीय तहलाई सचेत गराएको छ ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।