+
Search

ताजा अपडेट +

पपुलर +

अर्थमन्त्रीले परिसंघका पदाधिकारीलाई भने :

‘लगानी गर्न उत्साहित हुनुस्, फरक बजेट ल्याउँछौँ, उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्छौँ’

पालिका लाइभ
२०८२ चैत्र १७, मंगलवार

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगतको भन्दा फरक बजेट ल्याउने बताएका छन् ।

नेपाल उद्योग परिसंघको टोलीसँग साेमबार साँझ भएको भेटमा अर्थमन्त्री वाग्लेले सो धारणा राखेका हुन् ।

‘बलियो सरकार बनेको छ । जनताको ठूलो आसा र भरोसा छ । हामी यो महत्त्वपूर्ण समय देशको उन्नतिका लागि प्रयोग गर्न चाहन्छौं,’ उनले भने, ‘निजी क्षेत्रले खोजेको राजनीतिक स्थिरता प्राप्त भएको छ । अब आर्थिक समृद्धि हासिल गर्नुपर्ने छ । हामी बजेटबाट केही फरक सम्बोधन गर्दैछौं ।’

उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रमुखी आर्थिक वातावरण बनाउने उनले बताए । उदारको नाममा छाडा हुन भने नदिइने उनले बताए ।

निजी क्षेत्रमुखी आर्थिक वातावरण बनाउन सरकार गठन भएको पहिलो दिन नै १५ वटा कानुन खारेज गरेको जानकारी गराउँदै उनले भने, ‘सरकार र हाम्रो पार्टी निजी क्षेत्रप्रति उदार र सहयोगी छ भन्ने सन्देश दिइसकेका छौं । हामी उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्ने हो तर उदारको अर्थ छाडा हुनलाई भने हामी नियमन गर्ने नै हो ।’

निजी क्षेत्रलाई इमानदारीपूर्वक उद्योग र व्यापार गर्न आग्रह गर्दै मन्त्री वाग्लेले त्यसमा सरकारले दिल खोलेर सहयोग गर्ने बचन समेत दिए ।

नमूना औद्योगिक पार्क बनाउने र त्यसलाई सहजीकरण गर्न निजी क्षेत्रको मागमा अर्थमन्त्री वाग्लेले कुनै बहुराष्ट्रिय ठूलो कम्पनी वा त्यसको लगानी भित्राएर लगानीमैत्री वातावरण बनाउन पहल थाल्न आग्रह गरे । त्यसमा सरकारले सबैखाले सहयोग गर्ने उनले बताए ।

‘स्वदेशी, ठूला र बहुराष्ट्रिय कम्पनीको लगानीको सुरक्षामा सरकार प्रतिवद्ध छ । सबैखाले सहयोग हामी गर्छौं,’ अर्थमन्त्री वाग्लेले भने, ‘लगानी गर्न तपाईंहरु उत्साहित हुनुस् । विदेशी लगानी ल्याउने वातावरण बनाउनुस् ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ