+
Search

ताजा अपडेट +

पपुलर +

पालिकाले मनोमानी गरेको आरोप, भीरकोट उद्योग वाणिज्य संघले भन्यो– कर तिर्दैनौं

पालिकाले मनोमानी गरेको आरोप, भीरकोट उद्योग वाणिज्य संघले भन्यो– कर तिर्दैनौं
पालिका लाइभ
२०८२ आश्विन २२, बुधबार

स्याङ्जा– भीरकोट उद्योग वाणिज्य संघले भीरकोट नगरपालिकालाई कुनै पनि प्रकारको स्थानीय कर नतिर्ने घोषणा गरेको छ।

संघले एक विज्ञप्ति जारी गर्दै स्थानीय क्लबले व्यापारिक मेला आयोजना गर्न लागेको र नगरपालिकाले त्यसलाई अनुमति दिएकोप्रति असन्तुष्टि जनाउँदै यस्तो निर्णय गरेको हो।

संघका अध्यक्ष नुवादत्त अर्यालका अनुसार बिहीबारदेखि एक स्थानीय क्लबले ‘रमाइलो मेला’को नाममा व्यापारिक स्टलहरू राखेर मेला आयोजना गर्न लागेको छ। यसले स्थानीय व्यापारीहरूलाई निरुत्साहित बनाउने र थप आर्थिक दबाब सिर्जना गर्ने भन्दै संघले विरोध जनाएको छ।

संघले राज्य पुनर्संरचना पछि व्यापारिक हकहितका लागि स्थापना कालदेखि नै नगरपालिकासँग रचनात्मक सहकार्य गर्दै आएको स्मरण गराएको छ। यसअघि दुईवटा भीरकोट महोत्सव सफलतापूर्वक सम्पन्न गरी भीरकोट, स्याङ्जा र गण्डकी प्रदेशको कृषि तथा पर्यटन प्रवर्द्धनमा योगदान दिएको संघले विज्ञप्तिमा उल्लेख गरेको छ।

संघको भनाइमा, देशको आर्थिक मन्दी र विषम परिस्थितिमा पटक–पटक नगरपालिकालाई मौखिक तथा लिखित अनुरोध गरे पनि सीमित राजनीतिक स्वार्थ र दबाबका कारण स्थानीय क्लबलाई व्यापारिक मेला गर्न अनुमति दिइएको हो।

संघसँग कुनै छलफल वा सहमति नगरी गरिएको उक्त निर्णयप्रति आपत्ति जनाउँदै संघले नगरपालिकालाई कुनै पनि स्थानीय कर नतिर्ने निर्णय गरेको जनाएको छ।

गत असोज १८ गते बसेको संघको बैठकले सर्वसम्मत रूपमा उक्त निर्णय गरेको अध्यक्ष अर्यालले जानकारी दिएका छन्।

41cdba5enotice

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।