+
Search

ताजा अपडेट +

पपुलर +

वडाध्यक्षको विदेश यात्रा:

फेसबुकमा भावुक स्टाटस लेख्दै राजनीतिबाट सन्यास, चुमनुब्रीका वडाध्यक्ष लामा जर्मनी प्रस्थान

२०७९ मा निर्विरोध निर्वाचित चुमनुब्री–६ का वडाध्यक्ष लामाले ‘कामको जस नपाएको’ गुनासो गर्दै जर्मनी प्रस्थान गर्दा स्थानीय तहको नेतृत्व र राजनीतिक संस्कृतिमाथि गम्भीर प्रश्न उठेको छ ।

फेसबुकमा भावुक स्टाटस लेख्दै राजनीतिबाट सन्यास, चुमनुब्रीका वडाध्यक्ष लामा जर्मनी प्रस्थान
पालिका लाइभ
२०८२ भाद्र १०, मंगलवार

गोरखा– चुमनुब्री गाउँपालिका–६ का वडाध्यक्ष सरोज लामाले सामाजिक सञ्जाल फेसबुकमार्फत भावुक स्टाटस लेख्दै राजनीतिबाट सन्यास लिएका छन्। २०७९ को स्थानीय तह निर्वाचनमा निर्विरोध निर्वाचित भएका उनले कार्यकाल बाँकी छदै राजनीतिबाट सन्यास लिएका हुन्।

माओवादी केन्द्रबाट उम्मेदवार बनेका वडाध्यक्ष लामाले आफूले गरेको कामप्रति कहिल्यै राजनीतिक मान्यता वा ‘जस’ नपाएको गुनासो गर्दै जर्मनी प्रस्थान गरेका हुन्।

उनले सकेसम्म सबैलाई सन्तुष्ट पार्ने गरी इमानदारीका साथ काम गरे पनि त्यसबाट आत्मसन्तुष्टि नपाएको उल्लेख गरेका छन्। राजनीतिबाट सधैँका लागि बिदा लिएको घोषणा गर्दै जीवनलाई फेरि शून्यबाट सुरु गर्न परदेशिएको उनले प्रस्ट पारेका छन्।

लामाको विदेश प्रस्थानले सामान्य प्रतिनिधिको व्यक्तिगत निर्णयभन्दा धेरै अर्थ बोकेको छ। निर्वाचित जनप्रतिनिधिले नै जनताको विश्वासका साथ पाएको पद त्यागेर परदेशिनु राजनीतिक प्रणालीप्रति नै असन्तुष्टि हो कि भन्ने प्रश्न उठेको छ। जनतामाझ गरेको वाचा, पाँच वर्षे कार्यकाल पूरा गर्नुको दायित्व र त्यसबाट पन्छिने प्रवृत्ति कत्तिको स्वीकार्य भन्ने बहस बढेको छ।

उनले व्यक्त गरेको ‘काम गरे पनि जस नपाउने’ भन्ने असन्तुष्टि व्यक्तिगत पीडा मात्रै हो कि राजनीतिक संरचनामाथि नै प्रहार हो भन्ने अर्को प्रश्न पनि सार्वजनिक चर्चामा आएको छ। यसले राजनीतिक प्रणालीले निर्वाचित जनप्रतिनिधिलाई काम गर्ने वातावरण दिएको छ कि छैन भन्ने सन्देहलाई सतहमा ल्याएको छ।

स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरूमध्ये धेरै युवा विदेश रोजगारीप्रति आकर्षित हुनु सामान्य भए पनि पदमै रहँदै परदेशिने घटना दुर्लभ छ। यसले नेपालको राजनीतिक जिम्मेवारी र आकर्षणभन्दा पनि विदेशप्रतिको मोह अझै बलियो छ भन्ने तथ्य उजागर गरेको देखिन्छ। लामाको कदमले व्यक्तिगत निराशाभन्दा पर गई नेपालको लोकतान्त्रिक अभ्यास र जनप्रतिनिधिको भूमिकामाथि नै गम्भीर विमर्श खडा गरेको छ।

गोरखाकै सिरानचाेक गाउँपालिका वडा न ५ का वडाध्यक्ष ठानेश्‍वर पोखरेल र धार्चे गाउँपालिका वडा न ६ का वडाध्यक्ष धन कुमार घले यसअघि नै बिदेसिएका छन् ।

यद्यपि उनले आफ्नो अनुपस्थितिमा वडाको सेवा प्रभावित नहुने दाबी गरेका छन्। वडा सदस्य ठीले ग्याम्चे लामालाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिँदै गाउँपालिकामा औपचारिक पत्रसमेत पठाएका छन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेका अनुसार पत्रमा उनले फर्किने वा नफर्किनेबारे खुलासा गरेका छैनन्। तर सामाजिक सञ्जालमा लेखिएको स्ट्याटसलाई आधार मान्दा उनी पुनः फर्किने सम्भावना न्यून देखिन्छ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।