+
Search

ताजा अपडेट +

पपुलर +

भेडी गोठाला भन्छन्- सरकारले एउटा न्यानो ज्याकेट दिए पनि लाउने थियौँ

पालिका लाइभ
२०८२ श्रावण १६, शुक्रबार

ढोरपाटन– अग्ला पहाडको शिरमा पुराना थाङ्नाले बेरिएको एउटा गोठ, निलो त्रिपाल र बाँसको चोयाले छाएको छानो, छेउमै सुरक्षाका लागि पालिएका भोटे कुकुर र वरिपरि हजारौँ संख्यामा हरेका भेडाका बथान। यही दृश्यभित्र दिनरात बिताइरहेका छन्, बागलुङ निसीखोला गाउँपालिका–६ का टेकध्वज घतान। ६४ वर्षीय घतान सानैदेखि गोठमा बस्दै आएका हुन्। हाल उनी टीकाधारा पुगेका छन्, जहाँ झन्डै २०० भेडासहित बसेका छन्।

घतानको दैनिकी बिहान भेडा दुहुने, दिउँसो घाँस काट्ने, बेलुकी चराउने काममै बित्छ। उनीसँगै रुकुम, रोल्पा र म्याग्दीका सात जना गोठाला एउटै गोठमा बस्छन्। पाँच हजारभन्दा बढी भेडाले बुकीपाटन क्षेत्रका खर्कहरू ढपक्क ढाकेका छन्। समुद्री सतहबाट चार हजार २०० मिटरको उचाइमा रहेका उनीहरूको बसोबास अझै पनि त्रिपालमै सीमित छ। उमेरले बुढ्यौली देखिए पनि घतान अझै हट्टाकट्टा छन्। पाँच दशकभन्दा बढी समय भेडा पाल्दै आएका उनी अहिले पनि त्यही जोशका साथ लेकबेँसी गरिरहेका छन्।

तर यति वर्षको अनुभव र लगावका बाबजुद उनीहरूलाई सरकारको कुनै साथ छैन भन्ने गुनासो साझा छ। ‘यस्तो जाडो छ, सरकारले गोठालालाई एउटा न्यानो ज्याकेट दिए पनि लाउँदा हुँ, गतिलो त्रिपाल भए पनि हुन्थ्यो,’ घतान भन्छन्, ‘कहिले कर्मचारीहरू आउँछन्, नाम टिप्छन्, तर केही दिँदैनन्। समाचारमा देखिन्छ, सरकारले किसानलाई अनुदान दिन्छ रे, तर हामीले त कहिल्यै केही पाएनौँ।’

रुकुमपूर्वका सत्यराम विश्वकर्मा पनि भन्छन्- राज्यले त्रिपाल वा सोलार दिए गोठ बनाउन र जाडो छल्न सजिलो हुन्थ्यो। उनीसँग अहिले तीन सयको हाराहारीमा भेडा छन्। गाउँमा बसेर यति धेरै भेडा पाल्न नसकिने भएकाले सधैँ गोठ सारेर हिँड्नुपर्ने बाध्यता रहेको उनले बताए।

पछिल्लो समय बुकीपाटन क्षेत्रमा भेडी गोठालासँगै आन्तरिक पर्यटकको घुइँचो पनि बढेको छ। तर उनीहरूको आगमन पनि समस्यारहित छैन। गोठाला लेकबहादुर विक भन्छन्, ‘घुम्न आएका पर्यटक बथानमा छिरेर नाच्छन्, चिच्याउँछन्, भेडा डराएर भाग्छन्। भागेका भेडालाई फिर्ता ल्याउन निकै समय लाग्छ, उल्टै हामीलाई गाली गर्छन्।’

लेकको कठ्याङ्ग्रिने चिसोमा दशकौं बिताएका गोठालाहरूले राज्यबाट कुनै औपचारिक सहयोग नपाएको अनुभव गरिरहेका छन्। न स्थायी गोठ छ, न सुरक्षित छाना, न त आधारभूत सामग्री नै पुगेको छ। तर पनि उनीहरू परम्परागत पेसाप्रति समर्पित छन्।

टेकध्वजले भने, ‘बाउबाजेले यही पेसा गरे, हामी पनि यहीमा लाग्यौँ, यहीबाटै परिवार पालिरहेका छौँ। सरकारले आँखा लगाइदिए सानो सहयोगले पनि हामीलाई ठुलो राहत पुग्थ्यो।’

रासस

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ