+
Search

ताजा अपडेट +

पपुलर +

नीति तथा कार्यक्रम

मर्स्याङ्दी गाउँपालिकाले ल्यायो ५९ करोडको बजेट, कस्ता छन् नीति तथा कार्यक्रम?

पालिका लाइभ
२०८२ असार १३, शुक्रबार

लमजुङ– मर्स्याङ्दी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५९ करोड ३४ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। ‘समृद्ध, आधुनिक, हराभरा मर्स्याङ्दी’ नारासहित प्रस्तुत बजेटमा सामाजिक न्याय, आत्मनिर्भरता, पूर्वाधार विकास, सेवा प्रवाह र समावेशी सहभागितालाई प्राथमिकता दिइएको छ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष जुना माया थापाले प्रस्तुत बजेट वक्तव्य दुवैले संघीयता र स्थानीय शासनको मर्म, नागरिकको आवश्यकता, सहभागी योजना निर्माण प्रक्रिया तथा दीगो विकास लक्ष्यलाई ध्यानमा राखी तयार गरिएको उल्लेख गरेका छन्।

बजेटले कृषि, पशुपालन, जडीबुटी, लघु उद्योग र पर्यटन क्षेत्रलाई उत्पादन वृद्धिको मुख्य आधारको रूपमा अघि सारेको छ। स्थानीय बीउबिजनको संरक्षणदेखि उत्पादनमा सीप अभिवृद्धि र बजारीकरणसम्मका कार्यक्रमहरू बजेटमा समेटिएका छन्।

कृषिजन्य उत्पादनमा आत्मनिर्भरता कायम गर्दै आय आर्जनलाई सहज बनाउने सोचसहित बीउ बैंक स्थापना, तालिम तथा अनुदान योजनाहरू अघि सारिएको छ। त्यस्तै, घरेलु तथा लघु उद्योगमा आधारित ग्रामीण अर्थतन्त्र सुदृढ गर्दै सहकारीहरूको सशक्तीकरण र रोजगारी सृजनालाई प्राथमिकता दिइएको छ।

शिक्षामा पहुँच र गुणस्तर वृद्धि गरी सामाजिक रूपान्तरणमा टेवा पुर्‍याउने लक्ष्यका साथ पूर्वाधार निर्माण, शिक्षक अभिमुखीकरण, छात्रवृत्ति वितरण, विद्यार्थी भर्ना प्रवर्द्धन, तथा सीप विकासजस्ता कार्यक्रमहरू समावेश गरिएका छन्। स्वास्थ्य क्षेत्रमा समुदायमै सेवा पुर्‍याउने योजना अघि सार्दै बुथस्तरमा स्वास्थ्य परीक्षण, केन्द्रहरूको स्तरोन्नति, आवश्यक जनशक्ति र उपकरण व्यवस्थापन र सुत्केरी तथा नवजात स्याहारका कार्यक्रमहरू सञ्चालन गरिने भएको छ।

पूर्वाधार विस्तारको सन्दर्भमा सडक सञ्जालको सुधार, खानेपानी, सिँचाइ, फोहोर व्यवस्थापन, जलाधार संरक्षण र वातावरणमैत्री संरचना निर्माणमा जोड दिइएको छ। बाढी पहिरो न्यूनीकरण, सार्वजनिक भवन मर्मत र निर्माण, वैकल्पिक ऊर्जाको प्रवर्द्धन जस्ता कार्यसूचीहरू बजेटमा समेटिएका छन्। वातावरण संरक्षणको दृष्टिकोणले प्लास्टिक न्यूनीकरण, हरित प्रविधिको उपयोग, जैविक कृषि, जडीबुटी संरक्षण र वन पैदावार व्यवस्थापनमा ध्यान दिइएको छ।

55512703012 marsyangdirm

समावेशी नीति अन्तर्गत बजेटले सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई अझ प्रभावकारी बनाउने योजना अघि सारेको छ। ६० देखि ६९ वर्ष उमेर समूहका नागरिकलाई पारिवारिक सन्दर्भमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइनेछ। महिलाहरू, अपाङ्गता भएका व्यक्ति, दलित समुदाय, पिछडिएका वर्ग, एकल महिला, तथा सीमान्तकृत बालबालिकालाई लक्षित छात्रवृत्ति, पोषण, सीप अभिवृद्धि, आत्मनिर्भरता र संरक्षणमुखी कार्यक्रमहरू प्रस्तुत गरिएको छ। यसबाहेक, वृद्ध वृद्धाका लागि सम्मानपूर्वक जीवन यापन गर्न सकिने सामाजिक संरचना तयार पार्ने योजना छ। बालबालिकाको लागि बालमैत्री वातावरण निर्माण, शिक्षामा पहुँच, स्वास्थ्य सेवा, तथा हिंसाविरुद्ध सुरक्षा कार्यक्रम सञ्चालन गरिनेछ।

संस्कृति र पर्यटनका क्षेत्रमा परम्परागत सम्पदा र धार्मिक स्थलहरूको संरक्षण तथा प्रचारमा बजेट केन्द्रित गरिएको छ। स्थानीय विशिष्ट व्यक्तित्वहरूका योगदानको कदर स्वरूप स्मृति विकास योजना ल्याइएको छ। पदमार्ग, पर्यटन सूचना केन्द्र, झरना, गुफा, पिकनिक स्थल, कोसेली घर लगायतका संरचनात्मक योजनाहरू अघि सारिँदै पर्यटन विकासलाई समृद्धिको स्रोत बनाउने प्रयत्न गरिएको छ।

राजस्व संरचना हेर्दा संघीय सरकारबाट १० करोड ३० लाख, प्रदेश सरकारबाट १ करोड १३ लाख ५५ हजार अनुदान प्राप्त हुने अनुमान गरिएको छ। स्थानीय तहबाट १ करोड रुपैयाँ आन्तरिक राजस्व संकलनको लक्ष्य राखिएको छ भने जडीबुटी, वन पैदावार र पर्यटन रोयल्टीबाट उल्लेखनीय आम्दानी हुने अपेक्षा गरिएको छ।

खर्च संरचना अनुसार ७ करोड ७७ लाख रुपैयाँ चालू खर्च र ५२ करोड ४८ लाख रुपैयाँ पुँजीगत खर्चमा विनियोजन गरिएको छ। महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, दलित, युवा, उद्यमशीलता, विपद् व्यवस्थापन, सूचना प्रविधि, सहकारी, खेलकुद, विद्युत, खानेपानी, पर्यटन प्रवर्द्धनजस्ता शीर्षकमा विविध कार्यक्रम समावेश छन्।

गाउँपालिकाले समावेशी योजना निर्माण प्रक्रियाबाट आएको नीति तथा कार्यक्रमलाई पारदर्शी र सहभागी कार्यान्वयन प्रणालीमार्फत अघि बढाउने प्रतिबद्धता जनाएको छ। योजना छनोटदेखि बजेट विनियोजनसम्मको प्रक्रिया तथ्यमा आधारित रहेकाले विकासका परिणाम दीर्घकालीन हुने विश्वास व्यक्त गरिएको छ।

उपाध्यक्ष थापाले गाउँसभामा भनेकी छन्, ‘हामी घोषणामै सीमित रहँदैनौँ, नीति र बजेट कार्यान्वयनमा नागरिकसँगै सहकार्य गर्दै अघि बढ्छौँ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ