+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभा बैठक

कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढ्यो : अमनलाल मोदी

पालिका लाइभ
२०८२ असार ७, शनिबार

काठमाडाैं– माओवादी केन्द्रका सांसद अमनलाल मोदीले थोरै समयमा धेरै मन्त्रालयको खर्च कटौतीमा टिप्पणी गर्नुपर्ने अवस्थामा समय कम भएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् ।

शनिवार प्रतिनिधि सभा बैठकमा विनियोजन शीर्षकहरू माथिको छलफलमा भाग लिँदै सांसद मोदीले छलफलमा मन्त्रीहरू पनि नआउने र मन्त्रालय थप्दै जाने हो भने समय पनि थप्न आग्रह गरेका हुन् ।

उनले संघीय निजामती ऐन संसदमा पेस भएर पनि नआउँदा दुःख लागेको बताउँदै आफू मन्त्री भएको समयमा कर्मचारीको तलब वृद्धिका लागि कार्यदल बनाइएको भए पनि त्यो अहिले नदेखिएको स्पष्ट पारे । सांसद मोदीले कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढिरहेको दाबी गरे । उनले सरकारले आन्दोलनरत शिक्षकसँग वार्ता र सम्झौता गरेर शिक्षा ऐन ल्याउने कुरा गरे पनि संसदमा आजसम्म विधेयक नआएको भन्दै आपत्ति जनाए ।

उनले भने ‘खर्च कटौतीसँग सम्बन्धित १० वटा मन्त्रालयको बजेटसँग सम्बन्धित विषयहरूमा आफ्ना धारणा राख्दा केही कुरामा सभामुखज्यूलाई विशेष ध्यानाकर्षण गर्न चाहन्छु । तपाईँले १० वटा मन्त्रालय आजै राख्नुभयो, अनि समय पनि अत्यधिक कम भएको कारणले सबै मन्त्रालयको टिप्पणी गर्ने र खर्च कटौती गर्ने कुरामा कहीँ न कहीँ समस्या हुन्छ । मन्त्रीहरू नआउने अनि तपाई थप्दै जानेभन्दा समस्या भयो, त्यही भएर समय पाउनुपर्छ सभामुख महोदय । संघीय मामिलासँग सम्बन्धित खर्च कटौतीको कुरा गर्दा संघीय निजामती सेवा ऐन आफू मन्त्री हुँदा मन्त्रिपरिषद्बाट पास गरेर संयोग संसदमा ल्याउन पाइन । त्यो बेला मन्त्रीबाट हामी फिर्ता हुने समय भएको थियो । तर, मैले मिहिनेत गरेर संघीय निजामती सेवा ऐन बनाउँदाखेरि पनि आजसम्म संघीय निजामती ऐन संसदमा पेस भएर पनि नआउँदा दुःख व्यक्त गर्न चाहन्छु । खर्च कटौतीको मुख्य पाटो आजको आवश्यकता विशिष्टीकृत सेवा प्रणाली हो ।

आज नेपालमा विशिष्टीकृत सेवा प्रणालीमा तपाईलाई अनिवार्य सर्तसँग जोडिएको कारणले सरुवा प्रणाली, त्यसको व्यवस्थित, त्यसपछि चक्रीय प्रणाली त्यसको कुरामा चाहिँ हामीले केही गरेका थियौँ । तर, त्यसको कार्यान्वयनका कुरामा कार्यदल बनाएका थियौँ त्यो अहिले देखिइरहेको छैन । अहिले पनि कर्मचारीहरूलाई तलब वृद्धिको कुरा संसदले बजेट भाषणमा अत्यधिक रूपमा तलब कमको कारणले भ्रष्टाचारहरू देखिइरहेका कारण तलब बढाउनुपर्छ भन्ने राखेका थियौँ त्यो पनि भएन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कुरा गर्दा शिक्षकहरूले धेरै आन्दोलन गरेका छन्, हामीलाई थाहा छ शिक्षकसँग वार्ता र संवाद गरेर सरकारले सम्झौता पनि गरेको छ । र शिक्षा ऐन ल्याउने कुरा गयो तर संसदमा आजसम्म आएको छैन । यो कहाँ गयो ? यो विषयमा कमसेकम हामीले जुन तरिकाले शिक्षकहरूसँग वार्ता र संवाद गरेका थियौँ यो कार्यान्वयन गर्नुपर्छ कि पर्दैन ?’

उनले आन्दोलनरत शिक्षकहरूसँग जुन तरिकाले वार्ता र संवाद भएको थियो सोही अनुरूप कार्यान्वयन गर्नुपर्ने कि नपर्ने भन्दै प्रश्न गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ