इलाम– खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपाली नागरिकका घर घरमा धारा र धारामा सुरक्षित खानेपानी भन्ने दृढ संकल्पका साथ अघि बढिरहेको बताएका छन् ।
आइतबार इलामको श्रीअन्तु सामालबुङ खानेपानी आयोजनाको उद्घाटन गर्दै उनले देशका विभिन्न ग्रामीण बस्तीमा अहिले पनि शुद्ध खानेपानीको अभावले थुप्रै समस्या देखापरेकाले ती समस्या समाधान गर्ने सरकारको प्रमुख प्राथमिकता रहेको बताए ।
‘खानेपानी समस्याकै कारण देशका कयौँ ठाउँमा अहिले पनि नागरिकले बस्ति सार्नु पर्ने अवस्था छ । सरकारले खानेपानीका समस्या समाधानका लागि ठोस योजनाहरु अघि सारेको छ । खानेपानीकै लागि बस्ति सार्नु पर्ने अवस्थाको अन्त गर्छौँ,’ उनले भने ।
यसैगरी उनले सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा सबै नागरिकलाई स्वच्छ र गुणस्तीय खानेपानी उपलब्ध गराउने तथा सरफाइका क्षेत्रमा लगानी वृद्धि गरेर दिगो विकासको लक्ष्य हासिल गर्ने बताए ।
‘विपद्का कारण भत्किएका खानेपानीका आयोजनाहरू र अधुरा खानेपानी आयोजनाको मर्मत गरी पानीको पहुँच वृद्धि गरी स्थानीय तह र उपभोक्ताको सहलगानीमा खानेपानी आयोजना एकीकृत रुपमा सञ्चालन गर्नेछौँ,’ उनले भने ।
आगामी वर्ष सबै नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी पुर्याउने हेतुले सिङ्गो मन्त्रालय लागि परेको मन्त्री यादवको भनाइ छ । ‘म बोलेको कुरा पुरा गर्ने व्यक्ति हुँ । म आफ्नो बाँचा अनुसार नागरिकका घर घरमा शुद्ध खानेपानी पुर्याउने हेतुले अहिले देशका दुर्गमदेखि सुगम ठाउँमा पुग्दैछु । नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी अवश्य पुर्याउँछु,’ उनले भने ।

विगतका समयमा अधुरा रहेका र बाढीले क्षति गरेका खानेपानीका आयोजनाहरु निर्माण सम्पन्न भइरहेको बताउँदै उनले भने, ‘मैले मन्त्रालय सम्हालेदेखि विगतका अधुरा रहेका खानेपानीका आयोजनाहरू पूरा भएका छन् । सिंहदरबारदेखि दुर्गमक्षेत्र सम्म अब शुद्ध खानेपानी वितरण हुँदैछ ।’
खानेपानी तथा ढलव्यवस्थापन विभागका मानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले इलामको श्रीअन्तु सामालबुङ खानेपानी आयोजना अन्तर्गत सुर्योदय नगरपालिका–४ र ५ का करिब दुई हजार १३४ घरपरिवार र ११ हजार ७६९ जनसंख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने बताए ।
उनका अनुसार हालसम्म कुल २५० घरधुरीहरू यस खानेपानी प्रणालीमा जोडिएका तथा यस योजना अन्तर्गत दुई वटा मुहान (सिद्धी खोला र श्रीअन्तु खोला) बाट पानी संकलन गरिन्छ । प्रभावकारी र भरपर्दो आपूर्ति सुनिश्चित गर्न आयोजना पम्पिङ तथा ग्राभिटी दुवै प्रणालीमा आधारित छ ।
योजना १५ वर्षको दीर्घकालीन सेवा अवधिका लागि डिजाइन गरिएको र जसमा भविष्यको जनसंख्या वृद्धि समेत ध्यानमा राखिएको छ । आयोजना सम्पन्न गर्नको लागि कुल लागत रु ३७ करोड ७२ लाख रहेको छ । जसमा १० प्रतिसत लागत स्थानीय समुदायबाट योगदान प्राप्त भएको खानेपानी तथा ढलव्यवस्थापन विभागले जनाएको छ ।
श्रीअन्तु समालबुङ खानेपानी आयोजना इलाम जिल्लाको सदरमुकामबाट ४७ किलोमिटरमा अवस्थित रहेको छ । यसको क्षेत्रफल १८ दशमलब ८ वर्ग किलोमिटर रहेको छ । यो समुद्री सहतबाट ९५७ देखि एक हजार ८०० मिटर सम्म रहेको महानिर्देशक ई श्रेष्ठले जानकारी दिए ।
‘आम उपभोक्ताको मागलाई मध्यनजर गर्दै सूर्योदय नगरपालिकाको सिफारिस बमोजिम सिद्धि र अन्तुखोलाको दोभान महेन्द्रबेंसी मुहानबाट पानी पम्पिङ् प्रणाली मार्फत उक्त क्षेत्रको उच्च भागमा भण्डारण गरी वितरण गर्ने परियोजना सहित यस आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७८/७९ देखि शुरु भएको हो,’ उनले भने ।
उक्त आयोजना खानेपानी तथा ढल व्यवस्थापन विभाग मातहत केन्द्रीय खानेपानी आयोजना अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामबाट सञ्चालनमा रहेको छ ।
प्रतिक्रिया