काठमाडौं– नागार्जुन नगरपालिका भित्रका गाउँहरूलाई कुनै समय ‘सिंहदरबार नजिकको कर्णाली’ भनिन्थ्यो । विकासका पूर्वाधारहरूको अभावका कारण पर्यटकीय सम्भावना बोकेका गन्तव्यहरू ओझेलमा थिए । तर मुलुक संघीय संरचनामा गइसकेपछि र स्थानीय सरकार बनेपछि नागार्जुन भित्रका गन्तव्यहरूले चर्चा पाउन थाले ।
घुम्दा आनन्द लाग्ने नगरपालिका क्षेत्रमा ईचङ्गुनारायण, कालुपाण्डे समाधिस्थल, हल्चोक आकाश भैरव, रानीवन क्षेत्र, नागार्जुन जामाचो, ह्रवाइट गुम्बा, गणेशमान स्मृति पार्क, भीमसेन स्थान, स्वीजरल्याण्ड पार्कलगायतका गन्तव्य स्थलहरूमा पछिल्लो समय पर्यटकको रोजाइमा छन् । त्यो भन्दापनि हाल नागार्जुन नगरपालिका–७ रामकोटमा ‘बद्रीनारायण धाम’ निर्माण भएकाले धाम नागार्जुनका लागि ‘ट्रनिङ पोइन्ट’ बन्न सक्ने देखिएको छ ।
प्राकृतिक तथा धार्मिक पर्यटनका रूपमा गन्तव्य स्थलहरूको विकास भएसँगै पर्यटनमैत्री संरचना निर्माणले पनि गति लिएको छ । पण्डित स्व.नारायण पोखरेलको स्मृतिमा स्थापित नारायण पोखरेल प्रतिष्ठानको अगुवाइ र प्रतिष्ठानका संरक्षक वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलको सक्रियतामा निर्माणाधीन ‘बद्रीनारायण धाम’ नागार्जुन पर्यटनको ‘ट्रनिङ पोइन्ट’ बन्नेमा स्थानीय ढुक्क छन् ।
हाल २२ रोपनी जग्गामा निर्माण भइरहेको धामको ४० प्रतिशत मात्र काम सकिएको छ । जसका लागि अनुमानित १४ करोड रकम खर्च भइसकेको र गुरुयोजना अनुसार सम्पूर्ण काम सक्न थप एक अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने प्रतिष्ठानले जनाएको छ ।
धाममा प्यागोडा र शिखर शैलीमा मन्दिर निर्माण सम्पन्न भइसकेको छ भने आध्यात्मिक केन्द्र, साधना केन्द्र, अत्याधुनिक गुरुकुल, भक्तजनलाई वासस्थानको व्यवस्थालगायतका संरचना निर्माण भइरहेको छ । साथै प्रतिष्ठानको कार्यालय, योग ध्यान केन्द्र, हवन कुण्ड, गणेश, सूर्य, देवी र शिवसहितको पञ्चायन मन्दिर निर्माण धमाधम भइरहेको छ ।
गुरु योजना अनुसारका सबै संरचना निर्माण गर्न करिब एक सय रोपनी जग्गा आवश्यक पर्ने प्रतिष्ठानका कोषाध्यक्ष भीमसेन पोखरेलले जानकारी दिए । ‘नारायण गुरु स्वयमले विश्वभरबाट १० करोड बढी रकम संकलन गर्नुभयो । सरकारले बर्षेनी बजेट विनियोजन गरेकाले कुल १३–१४ करोडको लागतमा हालसम्मको संरचना बनाएका छौँ । थप संरचना निर्माण गर्न एक अर्ब लाग्नसक्छ,’ उनले भने ।
प्रतिष्ठानका उपाध्यक्ष भुवन गिरी बद्रीनारायण धाम नेपालको मात्र नभई विश्वकै लागि नौलो धार्मिक गन्तव्य बन्न सक्ने दाबी गर्छन् । ‘यो धाम नागार्जुनको एक प्रमुख हब त बनिसकेको छ । त्यो भन्दा पनि नेपालका लागि गौरव हो । आर्थिक, भौतिक, सांस्कृतिक र आध्यात्मिक रूपमा धाम उत्कृष्ट छ । वैशाख १९ गतेबाट हुने प्राण प्रतिष्ठाले आन्तरिक पर्यटनलाई थप बढाव दिनेछ । भौतिक संरचना निर्माणमा थप सहयोग गर्नेछ,’ उनले भने ।
नागार्जुन नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शैलेन्द्र लामा निर्माण भइरहेको धामले नागार्जुनलाई धार्मिक सर्किटका रूपमा विकास गर्न मद्दत गरेको बताउँछन् । ‘धाम निर्माणले यहाँका अन्य पर्यटकीय गन्तव्यहरूमा पर्यटकहरूको आगमन बढ्ने छ । जसका कारण पर्यटनको विकासमा नागार्जुन एक ट्रनिङ पोइन्टका रूपमा लिन सकिन्छ,’ उनले भने ।
वडा नम्बर ८ का वडाध्यक्ष सुरजकुमार पोखरेल नागर्जुन एक तपोभूमि भएकाले धाम निर्माणले यहाँका अन्य गन्तव्यहरूको प्रचारमा थप सहयोग पुगेको बताउँछन् । ‘काठमाडौंको पश्चिम भेग एक तपोभूमी हो । जामाचो, इचंगुनारायण, भीमसेन थान, इन्द्र दह, कालु पाण्डे समाधिस्थलगायतका स्थानहरू उजागर गर्न केही समय लाग्यो । हाल धाम निर्माण भएपछि पर्यटन विकासलाई एक इँटा थपेको छ,’ उनले भने,‘पर्यटनको विकासले गति लिएसँगै हामीहरूले होटल र होमस्टेहरूको व्यवस्थापनमा जोड दिएका छौँ ।’
नागर्जुन नगरपालिकाका सामाजिक अभियन्ता नन्दनहरि गौतम हाल धाम निर्माण भइरहेको स्थान कुनै समय विशाल जंगल रहेको र तत्कालीन माधव कुमार नेपाल नेतृत्वको सरकारले धाम निर्माणका लागि जग्गा हस्तान्तरण गरेपछि आफूहरू उत्साहित भएको बताउँछन् ।
‘धाम निर्माणमा स्थानीयवासीको भूमिका प्रभावकारी छ । स्थानीय सरकारले प्राथमिकता दिएको छ । जसका कारण हाल पूर्वाधारहरूको विकासले गति लिएको छ । जसका कारण यहाँ सबै गन्तव्यहरूले पर्यटकहरूलाई आनन्द दिने नै छ,’ उनले भने ।
बन्द्रिनारायण धामका परिकल्पनाकार एव संरक्षक पण्डित दिनबन्धु पोखरेल धामको पूर्ण विकासका लागि अब राज्य लाग्नुपर्ने बताउँछन् । ‘धाममा हाल निर्माण भएका संरचनाहरू ३५ प्रतिशत मात्र सम्पन्न भएका छन् । ६५ प्रतिशत अब राज्यले पूरा गर्नुपर्छ । अहिले हामीले एकसय वर्षलाई जग्गा लिजमा लिएर काम गरिरहेका छौँ । भोलिका दिनमा धाम सरकारलाई नै हस्तान्तरण गर्ने हो र त्यसका लागि राज्य जिम्मेवार हुनुपर्छ,’ उनले भने ।
१६ हजार १ सय आठ रुपैयाँ दान अभियान
आगामी वैशाख १९ देखि २७ गतेसम्म हुने प्राण प्रतिष्ठा एव अनुष्ठान कार्यक्रममा १६ हजार १ सय आठ रुपैयाँ दान अभियान सञ्चालन गरिएको छ । । उक्त रकम मन्दिर निर्माणका लागि दान गरे दाताको नाम शिलालेखमा उल्लेख गरिने र पितृको नाममा हवन गर्ने अवसर प्रदान गरिने पण्डित पोखरेलले जानकारी दिए ।
‘घर–घरबाट उठौँ, बस्ती बस्तीबाट जुटौँ, यो महान अभियानमा कोही नछुटौँ । सनातनी गौरव नेपालीको सान, दर्शन गरौँ बद्रीनारायण धाम,’ नारा दिएर हामी महान अभियानमा छौँ । नेपाली कला, संस्कार र संस्कृति विश्वभर फैलाउने अभियानमा छौँ । यसका लागि विश्वभरका सनातनीहरूले सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा लिएका छौँ,’ पण्डित पोखरेलले भने ।
नेपालीहरूले अब चार धामका लागि भनेर भारत जानुपर्ने बाध्यता नहुने भन्दै अब बद्रीनारायण धाम नै चार धाम मान्न सकिने उनको दाबी थियो । धाम निर्माणका लागि विश्वभरका नेपालीहरूको साथ रहेको उल्लेख गर्दै एउटा ठुलो सपना पूरा भएकोमा गर्व समेत गरे ।
प्रतिष्ठामा विश्वका ८० देशबाट भक्तजनहरू रामकोट पुग्ने आयोजकको दाबी छ । भारतबाट पनि प्रतिष्ठित सनातन धर्मका प्रवर्द्धक धाममा पुग्ने बताइएको छ । प्रतिष्ठा एव अनुष्ठानको वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
करिब एकसय रोपनी जग्गामा निर्माणमा भइरहेको धामको ३५ प्रतिशत मात्र काम सकिएको छ । जसका लागि अनुमानित १४ करोड रकम खर्च भइसकेको र गुरुयोजना अनुसार सम्पूर्ण काम सक्न थप एक अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने प्रतिष्ठानले जनाएको छ ।
वि.सं. २०११ जेठ ३२ गते गोरखाको बगुवामा जन्मेका चर्चित पण्डित नारायण पोखरेलको नाममा प्रतिष्ठान स्थापना गरेर धाम निर्माण अभियान सुरु गरिएको हो । पोखरेललाई ०६२ वैशाख २३ गते रुपन्देहीको रामापुरमा हत्या गरिएको थियो । नेपालको पहिलो धार्मिक सहिद मानिँदै आएका स्व. पोखरेललाई जनस्तरबाट वाचन शिरोमणिको उपाधि दिइएको थियो । उनै नाममा प्रतिष्ठान निर्माण गरी धाम निर्माण भइरहेको हो ।
प्रतिक्रिया