झापा– प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ भइरहेको हल्लाका पछि नलाग्न आग्रह गरेका छन् ।
दमकमा एमालेले आयोजना गरेको जनजागरण सभालाई सम्बोधन गर्दै उनले नयाँका नाममा आएकाहरु कोही सहकारी ठग, कोही साहुमारा भएको टिप्पणी गरे । उनले नयाँ राजनीतिक दल र राजसंस्थाको पक्षमा भइरहेका गतिविधिलाई लक्षित गर्दै यस्तो बताएका हुन् ।
‘यस्ताको पछि लागेर हुँदैन । उनीहरुको असली अनुहार चैत १५ गते देखिइसकेको छ।’ उनले भने । प्रधानमन्त्री ओलीले नयाँको हालत देखिएको र उनीहरुको पछाडि लाग्न नहुने बताए । देश अहिले अस्थिरताबाट हटेर स्थिरतातर्फ लम्किएको उनको भनाइ छ ।
उनले भने, ‘अब सरकार स्थिर छ । नयाँ नयाँ योजना र कार्यक्रम लिएर आउँछ । अब रोकिएका आयोजनाहरु अगाडि बढ्छन् । देशमा, यस जिल्लामा र नगरमा नयाँ नयाँ योजना आउनेछन् । त्यहीअनुसारको बजेट आउनेछ ।’
प्रधानमन्त्रीले निर्माण कार्य रोकिएका र बन्न बाँकी रहेका बाटा र आयोजनाहरू अब अगाडि बढ्ने जनाउँदै आगामी बजेट र नीति तथा कार्यक्रममा नयाँ ढंगले अगाडि बढाउने उचित नीति र कार्यक्रम लिएर आउने जनाए ।
उनले कृषिको आधुनिकीकरण र विस्तारका लागि प्राथमिकता दिँदै उद्यमशीलताको विकास गर्न सरकारले प्राथमिकता दिनेसमेत बताए ।
‘हामीले अध्यादेश हुँदै विभिन्न पाँच महत्त्वपूर्ण कानुन ल्याएका छौँ । भूमिसम्बन्धी कानुन पनि चाँडै आउँछ । यसप्रति निजी क्षेत्र र सबैको सकारात्मक धारणा रहेको छ । घाटामा रहेको अर्थतन्त्र उकालो लाग्न थालेको छ,’ उनले भने, ‘भूमिहीन सुकुम्वासीहरूका समस्या समाधान गर्न अब आउने संसद्को अधिवेशनको सुरुमै कानुन ल्याइनेछ । मुलुकलाई गरिबीबाट मुक्त गराउन हामी क्रियाशील रहनेछौँ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामी दत्तचित्त भएर लाग्नेछौँ । एमालेविनाको नेपालको सपना देख्नेहरूको देशद्रोही सपना पूरा हुँदैन । एमाले झन् ठुलो भएर विजयी भएका आउनेछ । जनतामा आधारित यो पार्टी देशको भविष्य हो । एमाले असफल भए देश असफल हुन्छ ।’
प्रतिक्रिया