काठमाडौं– नेपाल मेडिकल कलेज, जोरपाटीका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् । आइतबार श्रम शोषणविरुद्ध उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिए ।
आन्दोलनरत डा.राजु चौधरीले मन्त्रिपरिषद्बाट निर्णय नै भइसकेको विषय कार्यान्वयन नहुनु दुःखद भएको भन्दै सडकमा आउनुपरेको बताए ।
उनले सरकारले तोके अनुसारको तलबको व्यवस्था नभएसम्म आन्दोलनमा जारी राख्ने प्रतिक्रिया दिए ।
उनले भने, ‘मन्त्रिपरिषद्बाट नै पास भइसकेका कुरा अर्थात न्यूनतम तलब ४८ हजार नीजि मेडिकलहरूले लागू गरिरहेका छैनन् । त्यसैका विरुद्धमा हाम्रो शान्तिपूर्ण विरोध हो। अस्पतालमा बिरामीको उपचार गर्नुपर्ने ठाउँमा सडकमा आएर आफ्नो कुराहरू राख्ने परिस्थिति छ । यसले हामीलाई चिन्तित बनाएको छ। सरकारले निर्णय गरेर पठाएको कुरा पनि कार्यान्वयन नगर्नु भनेको सरकारले केही गर्न सक्दैनन् भन्नेजस्तो भयो। माग सम्बोधन नभएसम्म हामीले सडकमै हुनेछौँ ।

यस्तै, डा.अनुशासन थापाले सरकार र मेडिकल एजुकेसन कमिसनबाट यति तलब दिनुपर्ने भनेर तोकिसक्दा पनि अझैसम्म पनि मेडिकल कलेजहरूबाट कार्यान्वयन नभएको भन्दै धर्नामा आएको बताइन् ।
उनले भनिन्, ‘आन्दोलनको मुख्य कुरा भनेको सरकार र मेडिकल एजुकेसन कमिसनबाट ४८ हजार तलब दिनुपर्ने हामीले गरेको कामको आधारमा यति दिनुपर्ने भनेर तोकिसक्दा पनि अझैसम्म पनि माग पूरा नभएकाले धर्नामा आएका हौँ ।’
आन्दोलनकारीहरूले ‘स्वास्थ्य शिक्षामाथिको चरम व्यापारीकरण नियन्त्रण गर, पीजी सिटको कालोबजारी बन्द गर’ जस्ता प्लेकार्ड बोकेका छन् । मन्त्रिपरिषद्बाट पारित भएको न्यूनतम तलब ४८ हजार पाउनु पर्नेमा आफूहरूलाई १९ हजार ५०० मात्र दिइएको उनीहरूको भनाई छ ।
प्रतिक्रिया