+
Search

ताजा अपडेट +

पपुलर +

निर्माण व्यवसायीको आरोप- सिमेन्टको भाउ अस्वाभाविक बढाइँदा पनि सरकार मूकदर्शक भयो

पालिका लाइभ
२०८१ चैत्र ५, मंगलवार

काठमाडौं– निर्माण व्यवसायीहरूले ‘कार्टेलिङ’ गरी सिमेन्टको भाउ अस्वाभाविक बढाउँदा पनि सरकार मूकदर्शक भएर बसेको आरोप लगाएका छन् ।

सिमेन्ट उद्योगीप्रति आक्रोश पोख्दै नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहले सिमेन्टमा गरिएको अस्वाभाविक मूल्यवृद्धि तुरुन्त खारेज गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबार जारी बैठकका निर्माण व्यवसायी महासंघ अध्यक्ष सिंहले अभाव सिर्जना गरेर सिमेन्ट, छड लगायत सामग्रीको भाउ बढाइँदा पनि सरकार मूकदर्शक भएर बसेको आरोप लगाए ।

उत्पादन कटौती गरेर मूल्य बढाइएको र अनावश्यक अभाव सिर्जना गरिएको सिंहले थप आरोप लगाए ।

उनका अनुसार केही समयअघि स्टिल उद्योगले छडको भाउ एकै चोटि बढाएर प्रतिकिलो ७६ बाट ९० रुपैयाँ पुर्‍याएका थिए । त्यसकारण यो अस्वाभाविक मूल्यवृद्धि तुरुन्त खारेज गरी कार्टेलिङमा संलग्न उद्योगीलाई कारबाही गराउन समितिले सरकारलाई निर्देशन दिनुपर्छ ।

तर, सिमेन्ट उत्पादक संघ अध्यक्ष ध्रुव थापाले भने निर्माण व्यवसायीको आरोपको डटेर सामना गरे ।

थापाका अनुसार सम्बन्धित निकायले उत्पादन लागतको अनुगमन गरेको छ । यसमा दूधको दूध पानीको पानी उद्योग मन्त्रालयले छुटाउने छ ।

आजसम्म सिमेन्ट पाइए पनि अब १२ घण्टा लोडसेडिङ हुने भएपछि त्यो पनि नपाइने उनले बताए ।

बैठकमा समिति सदस्य (सांसद) रणेन्द्र बराइलीले ध्रुव (थापा) जीको धम्कीपूर्ण भाषा मान्य छैन भन्दै घाटामा सिमेन्ट बेच्न नभनेको बताए ।

अर्का सांसद डोलप्रसाद अर्यालले सिमेन्ट उद्योगीको भाषामा आपत्ति जनाए ।

अर्यालले दुवै पक्षको आरोप–प्रत्यारोप बारे समितिबाट अध्ययन गर्नुपर्ने भन्दै एक्कासि मूल्यवृद्धि किन भयो, त्यसबारे वैज्ञानिक आधार हुन सक्ने बताए ।

त्यसैगरी सांसद महेन्द्रबहादुर शाहीले मूल्यवृद्धि हुँदा ठुला आयोजनाहरूमा समस्या हुने भएकाले प्रत्येक वर्ष करको दायरा बढाउने र मूल्य पनि बढाउने हुँदा उपभोक्तालाई असहज हुने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ