काठमाडाैं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले थरुहट आन्दोलनको औचित्य समाप्त गर्न विभिन्न व्यक्ति र शक्तिहरूले चलखेल गर्न थालेको बताएका छन् ।
शुक्रवार कैलालीमा आयोजित पार्टीको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै चौधरीले यस्तो बताएका हुन् ।
‘हामीले सुरु गरेको पहिचानको आन्दोलन, थरुहटको आन्दोलन जसले हिजो असफल बनाउन लागि परे । हाम्रा साथीहरूलाई विभिन्न आरोपमा जेलनेल सहन बाध्य बनाए आज उनीहरूले नै फेरि थरुहट आन्दोलनको औचित्य समाप्त गर्न चलखेल गर्दै छन् । रेशम चौधरीलाई र नागरिक उन्मुक्ति पार्टीलाई समाप्त पार्न अनेकौँ हत्याकाण्ड अपनाउन थालेका छन्’, उनले भने ।
आफूहरू पहिचानको लडाइमा विगतमा पनि कसैसँग नझुकी नडराई निरन्तर आन्दोलन गरेको स्मरण गराउँदै उनले कार्यकर्तालाई समग्र देशको पहिचान स्थापित गर्दै चौतर्फी विकासको अभियानमा जुट्न निर्देशन दिए ।
‘हिजो थरुहट आन्दोलनको जगमा स्थापित भएको पार्टी हो, जुन आन्दोलनमा हामीले बन्दुक खायौँ, सत्ता र पहिचान बिरोधीहरुबाट अनेकौँ झुट्टा मुद्दा खेप्यौँ । म र हाम्रा साथीहरू कैदी बन्दी बनाइयो तर हामी डराएनौँ । अब पनि कसैले चलखेल गर्दैमा हामीलाई केही हुनेवाला छैन । ढुक्क भएर पार्टी र संगठन बिस्तार गर्दै देश विकासको महाअभियानमा जुट्नुहोस्’, उनले भने ।
राजबन्दीहरूको रिहाइका निम्ति पार्टीले प्रधानमन्त्री तथा सत्ता गठबन्धनका दलहरूसँग निरन्तर छलफल गरिरहेको बताउँदै उनीहरूलाई जतिसक्दो छिटो थुनामुक्त गराउने चौधरीले बताए ।
प्रतिक्रिया