काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकलाई सुशासनतर्फ अघि बढाउन एकपछि अर्को भ्रष्टाचारका फाइल खोल्दै जाने बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले विगतदेखि नै भ्रष्टाचारका कारण मुलुक अघि बढ्न नसकेको भन्दै अब मुलुकलाई सुशासनतर्फ अघि बढाउन एकपछि अर्को भ्रष्टाचारका फाइल खोल्दै जाने बताए।
उनले यसअघि भ्रष्टाचारका मुद्दामा अनुसन्धान अघि बढाउँदा दलहरूकै नेता मुछिएपछि अनुसन्धान नै रोकिने गरेकाले अब भने भ्रष्टाचारका फाइल खोल्दा कसैको अनुहार नहेर्ने स्पष्ट पारे।
अहिले अनुसन्धान अघि बढाएका फाइलहरू यसअघि जस्तो बिचैमा बन्द नहुने उनको भनाइ छ।
उनले भ्रष्टाचारीहरू मिलेर हटाउन खोजेपछि त्यसको सामना गर्न तयार रहेको बताए।
मन्त्री गुरुङले आफ्नो अनुहारमा दाग बोकेर ऐना पुछ्ने प्रवृतिले राजनीतिमा समस्या बढेको भन्दै अनुहारको दाग पुछ्ने काममात्रै भए पनि नेपालको राजनीति सुध्रने बताए।
उनले राजनीतिमा लागेका व्यक्तिहरुले जनताको निराशालाई आशामा बदल्न सक्नुपर्ने भन्दै बदल्न नसके राजनीतिक छाड्न तयार हुनुपर्ने पनि धारणा राखे।
प्रतिक्रिया