काठमाडौं– कोरोना भाइरसको रोकथामका लागि नेपाललाई सहयोग गर्न अपिल गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पत्र पुगेको छ।
पत्र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पठाएका हुन्।
तीन दिनअघि (२६मार्च)मा पठाएको उक्त पत्रमा प्रचण्डले कोरोना महामारी रोक्न सफल भएकामा चिनियाँ राष्ट्रपति सीलाई बधाई दिएका छन्।
‘चीनले कोरोना संक्रमणलाई सफलतापूर्वक नियन्त्रण गरेको मिडियाबाट थाहा पाएकोमा हामी खुसी छौं,’ प्रचण्डले पत्रमा भनेका छन्, ‘कोरोना भाइरससँगको यो लडाईंमा जित हासिल गरेकामा म नेकपाकाे तर्फबाट बधाई दिन्छु।’
कूटनीतिक संयन्त्र प्रयोग नगरी पठाइएको पत्रमा प्रचण्डले नेपाल यो महामारीको सामाना गरिरहेको भए पनि यससँग जुध्न तयार भइनसकेको भन्दै विशेष गरी मेडिकल सामग्री सहयोग गर्न आग्रह गरेका छन्।
‘अर्कोतर्फ नेपाल अहिले यो महामारीको सामना गरिरहेको छ,’ प्रचण्डले लेखेको पत्रमा उल्लेख छ, ‘नेपालले योसँग लड्न तयार भइनसकेकाले कोरोनाविरुद्ध लड्न मेडिकल सामग्री र उपकरणको नेपाललाई तुरुन्त आवश्यकता छ। सम्भव भएसम्म सहयोग उपलब्ध गराउन म नेकपा र नेपाली जनताकोतर्फबाट महामहिमलाई आग्रह गर्दछु।’
प्रतिक्रिया