+
Search

ताजा अपडेट +

पपुलर +

शहीद सुरेश वाग्ले र भीमसेन पोखरेलको बलिदानले जनयुद्धलाई नयाँ उचाइ दिएको थियो : प्रचण्ड

शहीद सुरेश वाग्ले र भीमसेन पोखरेलको बलिदानले जनयुद्धलाई नयाँ उचाइ दिएको थियो : प्रचण्ड
पालिका लाइभ
२०८३ भाद्र २३, मंगलवार

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘वैरागी’को बलिदानले तत्कालीन राज्यसत्ताविरुद्धको आन्दोलनलाई नयाँ ऊर्जा प्रदान गर्दै जनयुद्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

काठमाडौंमा आयोजित शहीद सुरेश वाग्ले र भीमसेन पोखरेलको २७औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले २०५६ सालमा गोरखामा वाग्ले र पोखरेलले सहादत प्राप्त गरेको दिन नेपाली क्रान्तिकारी आन्दोलनका लागि अत्यन्त महत्त्वपूर्ण दिन भएको बताए ।

याे पनि,

आज सुरेश वाग्ले स्मृति दिवस : को हुन् वाग्ले ?

उनले भने, ‘२०५६ सालमा सुरेश वाग्ले र भीमसेन पोखरेलले गोरखामा सहादत प्राप्त गर्नुभयो । पार्टीको पोलिटब्युरो तहको सबैभन्दा उच्च नेतृत्व पंक्तिबाट भएको त्यो सहादतले तत्कालीन राज्यसत्ताविरुद्ध जनता र क्रान्तिकारी पङ्क्तिमा आक्रोश र ऊर्जा पैदा गर्‍यो तथा जनयुद्धलाई नयाँ उचाइमा पुर्‍यायो।’

प्रचण्डले शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध अहिले पनि प्रतिक्रियावादी चलखेल भइरहेको भन्दै त्यसका विरुद्ध सचेत र दृढतापूर्वक उभिनु नै शहीदहरूप्रतिको सच्चा सम्मान हुने बताए।

‘सुरेश वाग्लेको निष्ठा, आदर्श र राजनीतिक उचाइ निकै उच्च थियो। उहाँको बलिदानपछि पैदा भएको नयाँ संकल्प र ऊर्जाले जनयुद्धलाई नयाँ उचाइमा लैजान र त्यसलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान गर्‍यो,’ उनले भने।

याे पनि,

को हुन् ‘महान् सहिद’ सुरेश वाग्ले

उनले जनमुक्ति सेनाका कुशल कमान्डर भीमसेन पोखरेलको योगदान र आदर्श पनि उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

प्रचण्डले आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यस्ता प्रवृत्तिका विरुद्ध नयाँ संकल्प र ऊर्जाका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

‘प्रतिक्रियावादी शक्तिहरूले आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयास गरिरहेका छन्। यस्तो बेला शहीदहरूको सपना र योगदानलाई आत्मसात् गर्दै नयाँ संकल्प र ऊर्जाका साथ अघि बढ्नु आवश्यक छ,’ उनले भने।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।