भाेजपुर- नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले शासकीय असक्षमताका कारण स्वर्गजस्तो देशमा गरिब भएर कहिलेसम्म बस्ने भन्दै प्रश्न गरेका छन् ।
पार्टीले सञ्चालन गरेको जनसंवाद यात्राको क्रममा भोजपुरको च्यांग्रेमा पौवादुङ गाउँपालिकाले आयोजना गरेको अन्तर्क्रियामा बोल्दै उनले शासकीय असक्षमताका कारण नागरिक गरिब भएर बस्नुपर्ने अवस्था बिडम्बनापूर्ण रहेको बताएका हुन् ।
‘अहिले हाम्रोमा चल्ते चलाते ढंगले सबैकुरा चलिरहेको छ,’ उनले भने, ‘हाम्रो पुस्ताले ७ दशक लामो लड्ने, भिड्ने, जेल जाने आदि गतिविधि गरेर व्यवस्था परिवर्तनमा ठूलो योगदान दिइसक्यो।’ विकास र समृद्धि अर्कै काम भएको उल्लेख गर्दै उनले हिजोको योग्यता र क्षमता मात्रै यो नयाँ काम गर्न यथेष्ट नहुने तर्क गरे ।
‘हाम्रो पुस्ताले एउटा काम गर्यो । विकास र समृद्धि अर्कै काम हो । घर भत्काउन धेरै सिप चाहिँदैन, बनाउन धेरै सीप चाहिन्छ,’ उनले भने, ‘बनाउन नयाँ पुस्ता र नयाँ मानिसहरुले सक्छन् कि हामीमा रुपान्तरण चाहिन्छ ।’
हिजोकै विचार, शैली, नेतृत्व, संगठन र ढाँचाले समृद्धि ल्याउन नसकिने उनले जिकिर गर्दै भने ‘नेतृत्वमा क्षमता र सीप नभई हुँदैन ।’ डा.भट्टराईले आफ्नो पुस्ताले समातेको साम्यवाद र पुँजीवादमा अहिले परिमार्जन भइसकेको सन्दर्भहरु उल्लेख गरे ।
‘नेपाल न जाडो न गर्मी र सुरक्षित पनि क्षेत्र भएकोले यहाँ धेरै थरीका मानिसहरु आएर बसे । यहाँ मिश्रित जातिहरु रहेका पाइन्छन्,’ उने भने, ‘त्यसैले हाम्रो राष्ट्रियता इन्द्रधनुषी राष्ट्रियता हो ।’ नेपालमा उपलब्ध प्राकृतिक र जातीय विविधतालाई अवसरको रुपमा उपयोग गर्दै तीव्र गतिमा समृद्धिमा जानुपर्नेमा उनको जोड थियो ।
पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले अगाडि भने, ‘गरिबी र बेरोजगारी उन्मुलन गरेर सबैले प्रतिफल पाउने र दिगो विकास समृद्धिको मोडेल अपनाउनु आवश्यक छ । यसलाई हामीले ‘समृद्धि- सबैका लागि, सधैंका लागि’ भनेका छौं ।’
उनले आफूहरु जनताबाट सिक्न आएको र आफूले भनिरहेको कुरा गलत रहेछ भने फेर्न र फेरिन तयार रहेको बताउदै उनले एक महिने अभियान सकिएसँगै यात्राको सिकाईको आधारमा नयाँ ढंगले अगाडि बढ्ने बताए ।
प्रतिक्रिया