+
Search

ताजा अपडेट +

पपुलर +

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा इन्जिनियर आचार्यको मनोमानी, करोडौँ घाटा खाएर सेटिङमा ठेक्का 

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा इन्जिनियर आचार्यको मनोमानी, करोडौँ घाटा खाएर सेटिङमा ठेक्का 
पालिका लाइभ
२०८० चैत्र २०, मंगलवार

काठमाडौं- २०७८ साउन २३ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण काम हुन नसकेपछि २५ पुसमा नेपाल सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन चितवनको भरतपुर महानगरपालिकालाई सहमति दियो ।

जतिबेला चन्दा उठाएर रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले १९ करोड ऋण लागेको भन्दै २ वर्षअघि निर्माणको काम छाडेको थियो । त्यसपछि यो रंगशाला अलपत्र थियो । सरकारले  निर्माणको बाटो खुलाइदिएपछि एकखालको उत्साह छाएको थियो ।

सरकारले प्रदेश सरकारको साझेदारीमा सहमति दिएपछि ठेक्का आह्वान गरेर निर्माणको काम अघि बढाउन बाटो खुलेसँगै भरतपुर महानगरपालिकाले १७ फागुनमा निर्माणको लागि टेन्डर आह्वान गर्‍यो ।

राष्ट्रिय गौरवको योजनामा समावेश भएको रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि महानगरपालिकाले एक अर्ब १० करोड रुपैयाँको टेन्डर आह्वान गर्‍यो । रंगशाला भरतपुर महानगरपालिका– १५ रामपुरमा निर्माणाधीन अवस्थामा छ ।

जतिबेला महानगरपालिकाले एक सार्वजनिक सूचना जारी गरी इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेस गर्न आह्वान गरेको हो । त्यस्तै टेन्डर आह्वानमा आरसिसी फर्म स्ट्रक्चरमा निर्माण गर्ने भनी सर्त राखिएको थियो ।

त्यस्तै टेन्डरको प्रस्ताव ३१औँ दिनमा खोलिने सूचनामा उल्लेख थियो । त्यसको दुई हप्तामा प्राप्त प्रस्तावको मूल्याङ्कन गरी छनोट भएको कम्पनीलाई निर्माणको जिम्मा दिइने बताइएको थियो । टेन्डरसम्बन्धी गुनासो भए २० दिनभित्र महानगरपालिकामा सम्पर्क गर्न पनि प्रकाशित सूचनामा भनिएको थियो ।

तर, समयअवधी बाँकी रहँदै महानगरपालिकाले आरसिसी फर्म स्ट्रक्चरमा निर्माण गर्ने भनिएको रंगशालाको सर्त फेरबदल गरेको पाइएको छ । महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यको मिलेमतोमा सुरुको सर्त फेरबदल भएको स्रोत बताउँछ ।

इन्जिनियर आचार्यको सेटिङमा हाल उक्त रंगशाला निर्माणको काम मुना एन्ड आचार्य कम्पनीलाई एकलौटी ढंगबाट दिने निर्णय गरेपछि महानगरपालिकाभित्रै यसको विरोध समेत भएको छ । उक्त कम्पनीका प्रोप्राइटर अनुप आचार्यले इन्जिनियर आचार्यलाई आर्थिक प्रलोभनमा पारेको बताइन्छ ।

सर्त फेरबदल भएसँगै राज्यलाई समेत करोडौँ रुपैयाँ नोक्सान हुने भएको छ । यदि आरसिसी फर्म स्ट्रक्चरमा रंगशाला निर्माण गर्ने भनिएको टेन्डरलाई निरन्तरता दिएको भए नेपालका कम्तीमा ३ वटा निर्माण कम्पनीले प्रतिस्पर्धा गर्न पाउँथे ।

तर, विभिन्न प्रलोभनमा पारेर इन्जिनियर आचार्यले  सेटिङ र दूषित मनसाय राखी मुना एन्ड आचार्य निर्माण सेवा कम्पनीलाई एकलौटी ढंगबाट टेन्डर दिन खोजेपछि महानगरपालिकालाई झन्डै १५ करोड बढी घाटा हुने महानगरपालिकाकै अर्का एक इन्जिनियर बताउँछन् ।

ती इन्जिनियर भन्छन्, किनभने प्रतिस्पर्धामा गएको भए टेन्डर रकममा प्रतिस्पर्धा गरी बोल कबोलमा करोडौँ रुपैयाँ घटेर महानगरपालिकाको रकम बचत हुने थियो । तर, एकलौटी एउटा कम्पनीलाई दिने भएपछि उक्त रकम निकासा समेत हुने छैन ।ु

लामो समयको अथक मिहिनेत, प्रयास र तत्परताले रंगशाला निर्माण कार्य सुनिश्चित हुने जस्तै भएपछि नेपाली खेलकुद जगतका लागि उत्साह छाएको थियो । तर, फेरी महानगरपालिकाको चलखेलले रंगशाला निर्माण कार्यले निरन्तरता नपाउने देखिएको छ ।

यस विषयमा महानगरका प्रमुख प्रशासकीय अधिकृत एव नेपाल सरकारका सहसचिव नरेन्द्रकुमार रानाले सर्त फेरबदल गरिएको कुरालाई स्वीकार गरे । कम्तीमा पनि ३ वटा निर्माण कम्पनीहरू योग्य हुनुपर्नेछ । एउटा मात्र बोलपत्रदाता योग्य ठहरिएमा ठेक्का स्वतः रद्द गरिनेछ र पुनः ठेक्का आह्वान गरिनेछ, उनले भने ।

यस विषयमा कोही कसैले एक्लैले निर्णय गर्ने कुरा हुन्न, मिडियामा आएको जस्तो सबै कुरा सत्य नभएको प्रमुख प्रशासकीय अधिकृतले रानाले बताए ।

यता, महानगरपालिकाकी मेयर रेनु दाहालले रंगशाला निर्माण हुन्छ कि हुँदैन भन्ने आशंका हटेको बताइरहँदा इन्जिनियर आचार्यको मनोमानीले अलपत्र हुने देखिएको छ ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।