काठमाडौँ– भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटेको सूची पठाएको छ।
आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेलमा १२ रुपैयाँ ३१ पैसा र हवाई इन्धनमा १० रुपैयाँ ६१ पैसा घटेको छ।
यस पटक पनि घटेर मूल्यसूची आएपछि नेपालको बजार मूल्य कम गर्न निगमलाई दबाब परेको छ। यसअघि घटेर आउँदा निगमले घाटा धेरै रहेको भन्दै मूल्य समायोजन गरेको थिएन। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिरहेको छ। त्यहीअनुसार आईओसीले घटेको मूल्यसूची पठाएको हो।
निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले शुक्रबार साँझ विज्ञप्ति प्रकाशित गरी राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको हो।
निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको छ भने हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।
घटेको मूल्यअनुसार अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल/मटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ।
प्रतिक्रिया