+
Search

ताजा अपडेट +

पपुलर +

धरान उपमहानगरको कार्यपालिका बैठक बस्दै, होला त चालू आर्थिक वर्षको बजेट पास ?

पालिका लाइभ
२०८२ भाद्र ११, बुधबार

धरान- लामो समयदेखि बजेटविहीन अवस्थामा रहेको धरान उपमहानगरपालिकामा आज दिउँसो २ बजे कार्यपालिका बैठक बस्दैछ। नगर प्रमुख हर्कराज राईले सामाजिक सञ्जालमार्फत आह्वान गरेको बैठकमा २६ वटा एजेन्डा प्रस्तुत हुने जनाइएको छ।

बैठकमा चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुमोदन, बजेट सिलिङ पास, ब्रेकडाउन भई आएका बजेट पारित गर्ने, कर्मचारी तह वृद्धि, योजना अनुमोदन र पालिका गान स्वीकृत गर्ने जस्ता प्रस्ताव छन्।

यसपटक विवादास्पद ‘मेयर भिजन’ र ‘उपमेयर भिजन’ शिर्षकका बजेटसमेत बैठकको एजेन्डामा परेका छन्। मेयर कोष र उपमेयर कोष अलग्गै राखेर विनियोजन गर्ने अभ्यास गत वर्षदेखि सुरु भएको हो। तर यस वर्ष पुनः यस्ता कोष राख्ने कि नराख्ने भन्ने विषयमा विवाद कायमै छ।

एमालेले यस्तो शिर्षक हटाएर ‘नगर गौरवका योजना’ जस्ता नाम दिनुपर्ने धारणा राखेको छ भने कांग्रेस र माओवादीले भने सहमति जनाइसकेका छन्।

स्रोत अनुगमन तथा सीमा निर्धारण समितिले २ अर्ब २० करोड ७४ लाखको बजेट प्रस्ताव गरेको छ। यो रकम उपमेयर आइन्द्रविक्रम बेघा संयोजकत्वको बजेट तर्जुमा समितिले सुझाव दिएको करिब १ अर्ब ६० करोडभन्दा धेरै हो।

एमालेका जनप्रतिनिधि असहमत रहँदै आएका कारण बजेटमा अन्तिम सहमति हुन बाँकी छ।

असार १० भित्र नगरसभा सम्पन्न गरी बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि धरान अझै बजेट पारित गर्न सकेको छैन।

असार ८ गतेको कार्यपालिका बैठक विधिसम्मत नभएको भन्दै उपमेयरसहित वडाध्यक्षहरूले असहमति जनाएपछि स्थगित भएको थियो। त्यसपछि असार ३२ गते बसेको अर्को बैठकमा समेत बजेटसम्बन्धी एजेन्डा समावेश गरिएको थिएन।

आजको कार्यपालिका बैठकले लामो समयदेखि परेको ‘बजेट होलिडे’ अन्त्य गर्न सक्ने वा विवाद झन् चर्काउने भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।

dharan agenda e1756276018899

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ