+
Search

ताजा अपडेट +

पपुलर +

विशेष महाधिवेशन :

विश्वप्रकाश शर्माले भने- विशेष महाधिवेशनले जे निर्णय गर्नेछ कांग्रेसको आगामी बाटो त्यही हुनेछ

पालिका लाइभ
२०८२ पुष २७, आईतवार

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले जे निर्णय गर्नेछ, कांग्रेसको आगामी राजनीतिक बाटो त्यहीअनुसार तय हुने बताएका छन्।

पार्टीको विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पार्दै सिङ्गो कांग्रेस र देशको नेतृत्व गर्ने गरी अघि बढिरहेको बताए।

उनले भने, ‘कतिपयलाई महामन्त्रीहरूले पार्टी फुटाउँछन् कि भन्ने लागेको हुन सक्छ। तर हामी सिङ्गो कांग्रेस र देशको नेतृत्व गर्ने गरी अघि बढेका छौँ। विशेष महाधिवेशनको उपस्थिति कुनै भिड होइन।’

शर्माले विशेष महाधिवेशनको हलबाट हुने निर्णय नै कांग्रेसको भविष्यको मार्गचित्र हुने उल्लेख गरे। ‘यो हलले जे निर्णय गर्छ, कांग्रेसको आगामी बाटो त्यही हुनेछ,’ उनले भने।

महामन्त्री शर्माले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा राज्यको तर्फबाट बल प्रयोग भएको भन्दै त्यसले परिस्थितिलाई झन् जटिल बनाएको टिप्पणी गरे। ‘भदौ २३ गते संसद् भवन तोडफोड गर्न दिएको भए के जान्थ्यो?’ भन्दै उनले प्रश्न गरे। भदौ २३ गते त्यतिका मानिसको ज्यान नगुमेको भए भोलिपल्ट झन् ठुलो विध्वंश नहुने थियो। ‘अघिल्लो दिन त्यतिका मान्छेको ज्यान नगुमेको भए भोलिपल्ट यस्तो अवस्था आउने नै थिएन,’ उनले भने।

घटनामा ‘जेन–जी’ आन्दोलनको नाममा घुसपैठ भएको दाबी गर्दै उनले जेन-जी पुस्तालाई आत्ममूल्याङ्कन गर्न आग्रह गरे। ‘यो बेला जेन-जी पुस्ताले पनि सोच्नुपर्छ। जहाँसम्म उहाँहरूको संलग्नता थियो, त्यसको मात्रै जिम्मेवारी लिनुपर्छ,’ शर्माले भने।

उनले पार्टी कार्यालय र पार्टी संस्थापकको निवासमा गरिएको आगजनीप्रति कडा आपत्ति जनाउँदै यस्ता गतिविधिले लोकतान्त्रिक मूल्यलाई कमजोर बनाउने बताए। शर्माले कांग्रेस पुरानै आनीबानी र कार्यशैलीबाट अब नचल्ने निष्कर्षसहित अघि बढेको स्पष्ट पारे। ‘पुरानै आनीबानीलाई राखेर नयाँ भविष्य बनाउन सकिँदैन,’ उनले भने।

उनले विषम परिस्थिति र फरक राजनीतिक अवस्थाबीच विशेष महाधिवेशन भइरहेको उल्लेख गर्दै पार्टीभित्र नवीन आत्मविश्वास भर्ने अठोटका साथ प्रक्रिया अगाडि बढाइएको बताए। ‘विषम परिस्थिति र भिन्न राजनीतिक अवस्थामा यो विशेष महाधिवेशन भइरहेको छ। पार्टीभित्र नयाँ आत्मविश्वास भर्ने अठोटका साथ अधिवेशन अघि बढिरहेको छ,’ उनले भने।

कांग्रेसका सुभचिन्तक र समर्थकहरूले रूपान्तरणमुखी कांग्रेस चाहेको उल्लेख गर्दै शर्माले विगतका कमजोरीहरूको जिम्मेवारी नेतृत्व तहले पनि लिने बताए। ‘आज देखिएका सबै कमीकमजोरीहरूमा ड्राइभिङ सिटको नजिक भएकाले हाम्रो पनि हिस्सा छ। कमजोरी स्विकार्दै भन्छौँ, पुरानै अवस्थामा अघि बढेर हुँदैन। मनस्थिति बदल्नुपर्छ,’ उनले जोड दिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ