+
Search

ताजा अपडेट +

पपुलर +

सरकारले पीसीएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छ : स्वास्थ्यमन्त्री गौतम

फाइल तस्बिर
पालिका लाइभ
२०८२ मंसिर २१, आईतवार

चितवन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले सरकारले एसईई परीक्षापछिको नर्सिङ पढाइ (पीसीएल) लाई निरन्तरता दिने तयारी गरेको बताएकी छन् ।

भरतपुर अस्पतालको ट्रमा सेन्टर तथा कम्पाउन्डिङ फार्मेसीको आइतबार उद्घाटनपछि आयोजित कार्यक्रममा उनले अहिले अस्पतालमा आवश्यक स्टाफ नर्सको सङ्ख्या कम भएकाले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्नेगरी तयारी थालिएको बताइन् ।

मन्त्री गौतमले भनिन्, ‘ठूला मेडिकल कलेज र आफ्नै अस्पताल भएका कलेजहरूलाई एसइई पछिको नर्सिङ पढाइको अनुमति दिने गरी काम गरिरहेका छौँ ।’

अध्यादेशमार्फत एउटा बुँदा थपेर भए पनि पढाइ सुरु गर्ने योजनामा सरकार र मन्त्रालय रहेको उनले बताइन् । अहिले मन्त्रालयले विषयगत रूपमा सात वटा विषयमा सुधार गर्नेगरी काम गरेको उनले बताइन् ।

मन्त्री गौतमले सेवातर्फ मानसिक स्वास्थ्य, श्रमिक स्वास्थ्य, महिला स्वास्थ्य र बालबालिका स्वास्थ्यमा केन्द्रित गरिएको जानकारी दिइन् । सुधारका क्षेत्रमा स्वास्थ्य बीमा सुधार, औषधिमा गुणस्तरीयता र खरिद प्रक्रियालाई सहजीकरण गर्दै भ्रष्टाचारमुक्त बनाउने गरी काम भइरहेको उनले बताइन् ।

मन्त्री गौतमले भनिन्, ‘हामीले प्रतिवेदन तयार पारी कार्ययोजना बनाइरहेका छौँ । शीघ्र यसको नतिजा आउने छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ