काठमाडौं– भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनबाट क्षतिग्रस्त सम्पत्ति र व्यवसायहरूले २२ अर्बभन्दा बढीको बिमा दाबी गरेका छन्। नेपाल बिमा प्राधिकरणका अनुसार आइतबारसम्ममा २ हजार ४७८ वटा बिमालेखमार्फत २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति माग गरिएको छ।
प्रदर्शनका कारण ठूला व्यवसाय र संरचनामा ठूलो क्षति पुगेको थियो। काठमाडौंको पाँचतारे होटल हिल्टनमा मात्रै ८ अर्ब बराबरको क्षति भएको छ भने भाटभटेनी सुपर स्टोर, सीजीलगायत अन्य कर्पोरेट हाउसहरूमा समेत ठूलो क्षति भएको छ।
यो क्षतिपूर्तिका लागि १८ वटा निर्जीवन बिमा कम्पनीमा दाबी परेको छ। सबैभन्दा धेरै दायित्व दि ओरियन्टल इन्स्योरेन्समा परेको छ, जसमा ५ अर्ब २२ करोड बराबरको ७३ वटा बिमा दाबी परेका छन्। त्यस्तै सिद्धार्थ प्रिमियरमा ५ अर्ब बराबरको २७९ वटा, आईजीआई प्रुडेन्सियलमा २ अर्ब ७६ करोडको १७० वटा, शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड बराबरको ३७४ वटा बिमा दाबी परेका छन्।
सगरमाथा लुम्बिनी, हिमालयन एभरेष्ट र नेको इन्स्योरेन्समा पनि एक अर्बभन्दा बढी दाबी दर्ता भएका छन्।
सानिमा जीआईसीमा मात्रै ८१ करोड बराबरको दाबी परेको छ भने युनाइटेड अजोड, नेपाल इन्स्योरेन्स, एनएलजी, राष्ट्रिय बिमा कम्पनी, प्रभु, नेशनल इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा करोडौँको दाबी परेको छ। माइक्रो इन्स्योरेन्स कम्पनीहरूमध्ये स्टार माइक्रोमा ७२ लाख, ट्रस्ट माइक्रोमा ४४ लाख र नेपाल माइक्रोमा ४१ लाख बराबरको दाबी परेको छ।
प्रदेशगत हिसाबले बागमती प्रदेशमा सबैभन्दा धेरै दाबी परेका छन्।
बागमतीमा मात्रै १ हजार ३४३ वटा दाबीमार्फत १७ अर्ब ९७ करोड ७२ लाख माग भएको छ। कोशीमा १ अर्ब ६५ करोड बराबरको ३२२ वटा, गण्डकीमा १ अर्ब २९ करोड बराबरको १८४ वटा दाबी दर्ता भएका छन्।
मधेश प्रदेशमा ५५ करोड बराबरको २४६ वटा, लुम्बिनीमा ४५ करोड बराबरको २०२ वटा, सुदूरपश्चिममा २३ करोड बराबरको १५९ वटा र कर्णालीमा ८ करोड ९३ लाख बराबरको २२ वटा दाबी परेका छन्।
बीमा वर्गीकरणअनुसार सम्पत्ति बिमामा सबैभन्दा धेरै दाबी दर्ता भएको छ।
प्राधिकरणका अनुसार सम्पत्ति बिमाअन्तर्गत १८ अर्ब ६१ करोड बराबरको ५३८ वटा दाबी परेका छन्। त्यसपछि मोटर बिमामा २ अर्ब ९५ करोड बराबरको १ हजार ७७८ वटा दाबी दर्ता भएका छन्।
यस्तै इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमामा ३३ करोड, परिवहन बिमामा १ करोड र अन्य बिमामा ३४ करोड बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया