+
Search

ताजा अपडेट +

पपुलर +

धरान उपमहानगरले ल्यायो २ अर्ब २० करोडको बजेट

पालिका लाइभ
२०८२ आश्विन ४, शनिबार

काठमाडौं– धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ।

स्थानीय सरकार सञ्चालन ऐन बमोजिम बजेट असार १० गतेभित्र ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि धरानले यसपालि समयमा बजेट प्रस्तुत गर्न सकेको थिएन।

आज १७औँ नगरसभामा उपप्रमुख अइन्द्रविक्रम बेघाले आर्थिक वर्ष २०८२/८३ का लागि दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट प्रस्तुत गरे। बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख ६५ हजार, संघीय सरकारबाट अनुदान ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान ७ करोड ७३ लाख ४४ हजार, राजस्व बाँडफाँटबाट ३४ करोड १८ लाख ५० हजार, सडक बोर्डबाट २ करोड र गत वर्षको मौज्दातबाट ७ करोड प्राप्त हुने अनुमान गरिएको छ।

बजेट अनुसार, सहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ ६६ करोड ९४ लाख, शिक्षा, युवा तथा खेलकुदतर्फ ४६ करोड ८५ लाख, स्वास्थ्यतर्फ ६ करोड ९९ लाख ९५ हजार, सामाजिक विकासतर्फ ४ करोड ८६ लाख ४५ हजार विनियोजन गरिएको छ।

आर्थिक विकासतर्फ १ करोड २९ लाख, वन, वातावरण, ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ २ करोड ७४ लाख ५० हजार, कानुन तथा न्यायतर्फ २० लाख, सार्वजनिक जग्गा संरक्षणतर्फ १५ लाख, राजस्व परिचालनतर्फ ४३ लाख र नगर भिजन कार्यक्रमतर्फ ५ करोड ५ लाख विनियोजन गरिएको छ। चालु आवका लागि धरानका २० वटा वडाका लागि २१ करोड विनियोजन गरिएको छ।

त्यसैगरी, नगर कार्यपालिकातर्फ नि:सर्त विनियोजन १ अर्ब ३१ करोड ९२ लाख ८२ हजार, सशर्त अनुदानबाट ६० करोड ५६ लाख ७७ हजार, समपूरक बजेटबाट १ करोड ८२ लाख र विशेष अनुदानबाट ५ करोड ४३ लाख विनियोजन गरिएको छ।

उपप्रमुखका अनुसार, नगरपालिकाले बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकास र विपद् व्यवस्थापनलगायत क्षेत्रलाई प्राथमिकता दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ