काठमाडौं- जेनजी आन्दोलनले पुराना पार्टी र नेतृत्वको औचित्यमाथि प्रश्न उठाइरहेको बेलामा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा दिन आग्रह गरेका छन् ।
शर्माले केही समयदेखि पार्टीभित्र रुपान्तरणको कुरा उठाउँदै आएका थिए । जेनजी आन्दोलनपछि उनले प्रचण्डको नेतृत्व अब असंगत भएको निष्कर्ष निकालेका हुन् ।
जेनजी आन्दोलनले भ्रष्टाचार र सुशासनका मागसहित सामाजिक सञ्जालमार्फत् अभियान चलाई भदौ २३ गते काठमाडौंमा प्रदर्शन आयोजना गरेको थियो । नयाँबानेश्वरसम्म पुगेको प्रदर्शन प्रहरी नियन्त्रणबाहिर गएपछि हिंसात्मक बनेको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए र नेपाली सेनाले शीर्ष नेताहरुको उद्धार गर्नुपरेको थियो ।
आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका प्रचण्डले मंगलबार पार्टी केन्द्रीय कार्यालय अवलोकन गरेका छन् । तर, उपमहासचिव शर्माले भने नेतृत्व परिवर्तनको आवश्यकता औंल्याउँदै देशलाई नयाँ ढंगले अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन् । उनले हालको सरकारलाई सहयोग गर्दै निर्वाचनमा जाने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरिसकेको छ ।
शर्माले पार्टीभित्र सम्पत्ति छानबिनका लागि स्वतन्त्र आयोग गठन गर्नुपर्ने, २०४६ पछि पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्ने, शहीद, बेपत्ता परिवार र घाइते योद्धा संरक्षण गर्ने नीतिहरू लागू गर्नुपर्ने लगायतका माग राखेका छन् । साथै, उनले प्रत्यक्ष निर्वाचित नेतृत्व प्रणाली, पूर्ण समानुपातिक निर्वाचन, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिलगायतका एजेन्डा अघि सारेका छन् ।
प्रतिक्रिया