काठमाडौं- नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।
प्रदेश सभा सचिवालय परिसरमा आज बुधवार भएका दलको निर्वाचनमा बानियाँले मुख्यमन्त्रीसमेत रहेका बहादुर सिंह लामा तामाङलाई पराजित गरेका हुन । बानियाँ र लामा दुवै पार्टी सभापति शरबहादुर देउवा पक्षका हुन ।
काँग्रेसका ३७ सांसदमध्ये बानियाँले २२ मत पाउँदा लामाले १४ मात्रै मत ल्याउन सके । १ मत बदर भएको छ ।
१३ साउन मंगलबार आफूविरूद्ध संसदीय दलमा परेको अविश्वासको प्रस्तावको विपक्षमा १५ मत मात्रै आएपछि उनले दल नेताको हैसियत गुमाएका थिए । अविश्वासको प्रस्तावको पक्षमा २२ मत परेको थियो ।
लामाले दलको नेताको हैसियत गुमाएपछि आज बुधवार दलको नेता चयनका लागि निर्वाचन भएको हो ।
बानियाँको नेतृत्वमा काँग्रेसका २१ जना सांसदले ९ साउनमा दल कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । लामा नेतृत्व सरकारका पाँच जना मन्त्रीले राजीनामा दिएर बानियाँलाई साथ दिएका थिए ।
बानियाँ र लामा संसदीय दलको नेतामा दोस्रो पटक भिडेका हुन् । प्रदेशसभाको दोस्रो कार्यकालमा पहिलो पटक १३ पुस २०७९ मा संसदीय दलको निर्वाचन हारेका बानियाँले साढे २ वर्षमै नतिजा उल्ट्याए ।
लामा र बानियाँ दोस्रो पटक दलको नेताका लागि निर्वाचन लडेका हुन् ।
४ मंसिर २०७९ मा भएको प्रदेश सभा निर्वाचनपछि बागमती प्रदेश सभाको ठूलो दल नेपाली काँग्रेस संसदीय दलको नेताका लागि १३ पुस २०७९ मा भएको निर्वाचनमा लामासँग बानियाँ ५ मतले पराजित भएका थिए ।
लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत मात्रै पाएका थिए ।
राजीनामा नदिए प्रक्रियाबाटै बिदा गर्छाैं
बानियाँले मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा नदिए प्रक्रियाबाटै हटाउने बताएका छन्।
दलको नेतामा पराजित भएपनि मुख्यमन्त्री लामाले संविधान अनुसार आफूले राजीनामा दिनुपर्ने कुनै कारण नभएको अडान लिएपछि उनले यस्तो बताएका हुन्।
उनले भने, ‘उहाँ नेपाली कांग्रेसका संसदीय दलको नेताको हैसियतले दुई पार्टीबीच गठबन्धन हुँदा उहाँ मुख्यमन्त्री हुनुभएको हो। उहाँको अहिले दलको नेताको हैसियत गुमेको अवस्था छ। त्यही दलको विधान अनुसार भएको हो। नैतिकता, राजनीतिमा इमानदारिता र पार्टीको साथीहरूको कुरालाई उहाँले मान्नुभएन भने यो उहाँको दुर्भाग्य कुरा हो।’
उनले मुख्यमन्त्रीले राजीनामा नदिए लोकतान्त्रीक अभ्यास अनुसार प्रक्रियाबाटै बिदाइ गर्ने बताए।
प्रतिक्रिया