+
Search

ताजा अपडेट +

पपुलर +

कार्यकाल सकिनै लाग्दा मन्त्री

मेयरमा पराजित भगवती न्यौपाने राष्ट्रिय सभा हुँदै सामान्य प्रशासन मन्त्री

पालिका लाइभ
२०८२ असार ३२, बुधबार

काठमाडौं– स्थानीय तहको निर्वाचनमा पराजित भएर राष्ट्रिय सभामा पुगेकी नेकपा एमालेकी सांसद् भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन्।

‘घुस डिल’ सम्बन्धी अडियो सार्वजनिक भएपछि राजीनामा दिएका राजकुमार गुप्ताको स्थानमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई नियुक्त गरेका हुन्।

गुप्ताको राजीनामापछि रिक्त भएको मन्त्रालयको जिम्मा एमालेले राष्ट्रिय सभा सदस्य न्यौपानेलाई दिएको हो।

२०७४ सालको स्थानीय तह निर्वाचनमा तनहुँको भानु नगरपालिकामा मेयर पदका लागि प्रतिस्पर्धा गरेकी न्यौपाने नेपाली कांग्रेसका उम्मेदवार उदयराज गौलीसँग ९ हजार ६४ मत ल्याएर झिनो अन्तरले पराजित भएकी थिइन्।

स्थानीय चुनावमा हारको तीन वर्षपछि, २०७६ सालमा उनी राष्ट्रिय सभामा निर्वाचित भइन्। महिलातर्फको सिटमा उनी ३ हजार ३६६ मतभारसहित विजयी भएकी थिइन्, जबकि निकटतम प्रतिस्पर्धी कांग्रेसकी विमला गौचनले २ हजार ३४० मतभार प्राप्त गरेकी थिइन्।

न्यौपानेसँगै गण्डकीबाट नारायणकाजी श्रेष्ठ पनि निर्वाचित भएका थिए। त्यो समय नेकपा एमाले र माओवादी केन्द्र नेकपाको रूपमा एउटै पार्टीमा थिए।

अब राष्ट्रिय सभाको कार्यकाल सकिन झन्डै ७ महिना बाँकी रहँदा उनी मन्त्री बन्न सफल भएकी छन्। मन्त्री नियुक्त हुनु पूर्व उनी राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतकको जिम्मेवारीमा थिइन्।

राजनीतिक यात्रा उनले विद्यार्थी जीवनमै सुरु गरेकी थिइन्।

गोरखा क्याम्पसमा अध्ययन गर्दा अनेरास्ववियुबाट सक्रिय राजनीति सुरु गरेकी न्यौपाने पछि अनेमसंघको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, एमाले तनहुँ जिल्ला सचिव हुँदै १०औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ