+
Search

ताजा अपडेट +

पपुलर +

विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ताका लागि गृह मन्त्रालयमा पत्र पठाउँदै

पालिका लाइभ
२०८२ असार १६, सोमबार

काठमाडौ– १० वर्षपछि नेकपा एमालेको राजनीतिमा पुनः क्रियाशील भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सो हैसियतमा पाएको सरकारी सेवा सुविधा फिर्ता गर्ने भएकी छन् ।

पूर्व राष्ट्र प्रमुखको सेवा सुविधा लिएर सक्रिय राजनीति गर्दा प्रश्न उठ्ने भएपछि सरकारले दिएको सो हैसियतको सुविधा फिर्ताका लागि गृह मन्त्रालयलाई पत्र पठाइने भएको छ ।

उनले शनिवार सभा गृहबाटै सो घोषणा गर्ने भनिए पनि स्टन्टबाजी नगर्ने भन्दै गृह मन्त्रालयलाई पत्र पठाएर फिर्ता गर्न लागिएको निकट स्रोतले जनाएको छ ।

भण्डारीनिकट स्रोतले भन्यो–धेरै नेता कार्यकर्ताले सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्ने क्रममा सेवा सुविधा फिर्ताको जानकारी पनि गराउन भनेका थिए । तर उनले त्यो सस्तो प्रचार र स्टन्टबाजी हुने भन्दै सरकारको सम्बन्धित निकायलाई पत्र पठाएर फिर्ता गर्ने चाहना राखेकाले सोही अनुसारको प्रक्रिया अघि बढेको छ ।

भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रुपैयाँ उपलब्ध गराएको गृह मन्त्रालयले जनाएको छ ।

रत्नराज्य लक्ष्मी क्याम्पसका पूर्वस्ववियु सभापति राजकुमार राई स्वकीय सचिवका रूपमा कार्यरत छन् ।

त्यस्तै पूर्व राष्ट्र प्रमुखको लागि खटिने सुरक्षाकर्मीका लागि बस्न घर भाडामा लिइएको छ । भण्डारीलाई प्रोटोकलभित्र सुरक्षा भने हटाउन नमिल्ने गृह मन्त्रालयले जनाएको छ ।

पूर्व राष्ट्रपति भण्डारीले अरू पदाधिकारीले जस्तो गाडी सुविधा नलिएको तर २०७ लिटर पेट्रोल मासिक रूपमा उपलब्ध गराइएको छ । त्यस्तै सुरक्षाकर्मीको घरभाडा सम्बन्धित घरधनीलाई नै उपलब्ध गराउने गरिएको गृहले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ