+
Search

ताजा अपडेट +

पपुलर +

नीति तथा कार्यक्रम:

अजिरकोटको नीति तथा कार्यक्रम: एक वडा, एक नमुना होमस्टे, बालमैत्री वडा घोषणाको तयारी

आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममार्फत स्थानीय पर्यटन प्रवर्द्धन, बाल अधिकार संरक्षण, स्वास्थ्य सेवा सुधार र आत्मनिर्भर ग्रामीण अर्थतन्त्र निर्माणलाई प्राथमिकता दिएको छ। गाउँसभामार्फत सार्वजनिक गरिएको यो दस्तावेज अध्यक्ष दीपक देवकोटाले प्रस्तुत गरेका हुन्, जसले 'एक वडा, एक नमुना होमस्टे' र 'बालमैत्री वडा' जस्ता योजनामार्फत समावेशी र समृद्ध अजिरकोटको खाका कोरेको छ।

पालिका लाइभ
२०८२ असार ६, शुक्रबार

गोरखा– अजिरकोट गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको छ । १७ औँ गाउँसभामा अध्यक्ष दीपक देवकोटाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

अध्यक्ष  देवकोटाले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रमले स्थानीय पर्यटन प्रवर्द्धन र बाल अधिकार संरक्षणलाई विशेष प्राथमिकतामा राखेको छ। ‘एक वडा, एक नमुना होमस्टे’ योजना र ‘बालमैत्री वडा घोषणाको तयारी’ कार्यक्रममार्फत गाउँको सामाजिक, आर्थिक र समावेशी रूपान्तरणकाे नीति तथा कार्यक्रम ल्याएकाे हाे ।

प्रस्तुत दस्ताबेजमा स्थानीय उत्पादन, पर्यटन, शिक्षा, स्वास्थ्य, सहकारी, रोजगारी र समावेशी विकासजस्ता क्षेत्रहरूलाई रणनीतिक प्राथमिकतामा राखिएको छ। गाउँपालिकाभित्र पाइने मौलिक संस्कृति, पुरातात्त्विक सम्पदा, हिमाली सौन्दर्य र जनजीवनमा आधारित पर्यटनलाई ग्रामीण अर्थतन्त्र सुदृढीकरणको मुख्य आधारका रूपमा प्रस्तुत गर्दै पालिकाले प्रत्येक वडामा एक नमुना होमस्टे सञ्चालन गर्ने नीति अघि सारेको छ।

5088854441Ajirkot

होमस्टे कार्यक्रमले पर्यटक भित्र्याउने माध्यम मात्रै नभएर गाउँमै रोजगारी सिर्जना गरी युवालाई विदेश पलायन हुनबाट रोक्ने विकल्पको रूपमा पनि आफूलाई स्थापित गर्ने लक्ष्य लिएको अध्यक्ष देवकोटाले स्पष्ट पारे। साथै, गोठस्टे सञ्चालन, पदमार्ग निर्माण, सांस्कृतिक पदयात्रा, ऐतिहासिक स्थानहरूको संरक्षण, पर्यटकीय स्थलहरूको चिन्हांकन र पर्यटक सूचना पुस्तिका प्रकाशनजस्ता कार्यहरू पनि समावेश गरिएका छन्।

बालमैत्री वडा घोषणाको तयारी यस वर्षको कार्यक्रममा अर्को प्रमुख आयामका रूपमा देखिएको छ। बालबालिकामाथि हुने हिंसा, श्रम र दुर्व्यवहार अन्त्य गर्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने र विद्यालयमा बाल क्लब गठन, पोषणयुक्त खाजा, पोशाक, शिक्षासामग्रीको उपलब्धता तथा बाल सहभागिता सुनिश्चित गर्ने योजना सार्वजनिक गरिएको छ। ‘हाम्रो गाउँ समृद्ध बन्न बालबालिका सुरक्षित, शिक्षित र सशक्त हुनैपर्छ,’ उनले भने, ‘त्यसका लागि हामी नीति र स्रोत दुवै सुनिश्चित गर्न तयार छौँ।’

54441Ajirkot

शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयलाई व्यवहारिक शिक्षासँग जोड्न ‘एक विद्यालय, एक प्रयोगशाला’, ‘एक विद्यार्थी, एक बिरुवा’, करेसाबारी, मौरीपालन र स्थानीय उत्पादनमा आधारित पाठ्यक्रमको अभ्यास जस्ता कार्यक्रमहरू अघि सारिएका छन्। सामुदायिक विद्यालयलाई नमुना विद्यालयमा रूपान्तरण गर्ने र स्नातक तहसम्मको अध्ययनको पहुँच विस्तार गर्न क्याम्पस स्थापनाको तयारी समेत नीति तथा कार्यक्रममा समावेश छ।

भच्चेक अस्पतालको सेवा विस्तार, आरोग्य केन्द्रको स्थापना, निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम, मातृ-शिशु पोषण, सुरक्षित मातृत्व, किशोर-किशोरी स्वास्थ्य शिक्षा, योग तथा आयुर्वेद सेवाको विस्तार र डिजिटल स्वास्थ्य व्यवस्थापन प्रणाली लागू गर्ने योजना सार्वजनिक गरिएको छ।

अस्पतालमा एमडिजिपि सेवा सुरु गरिँदैछ भने दन्त उपचारका लागि बिडिएस डाक्टरको व्यवस्था, फिजियोथेरापी सेवा, ल्याब स्तरोन्नति, पोस्टमार्टम सेवा, शल्यक्रिया कक्ष सञ्चालन, क्यान्टिनको व्यवस्था, बालमैत्री गार्डेन निर्माण, कर्मचारी आवास र ‘आमा बिरामी भान्छाघर’को सञ्चालनमार्फत भर्ना भएका महिला, बिरामी र स्याहारकर्ताका लागि खाना–खाजाको सुविधा उपलब्ध गराउने नीति पालिकाकाे छ।

50960154441Ajirkot

स्थानीय उत्पादनको ब्राण्डिङ र व्यवसायीकरणमा पनि नीति केन्द्रित देखिन्छ। ‘घर उद्योग’ अवधारणाअनुसार कोदोको रक्सीलाई कानुनी, गुणस्तरीय र व्यवस्थित रूपमा उत्पादन गर्ने याेजना छ। जडीबुटी, अलैँची, काफल, ऐसेलु, दुना टपरी जस्ता उत्पादनलाई प्रशोधन, प्याकेजिङ र बजारसम्म पुर्‍याउने योजनाले आत्मनिर्भर स्थानीय अर्थतन्त्रतर्फको संकेत गर्छ। ‘एक घर, एक सदस्य, एक सहकारी, एक उत्पादन’ अवधारणाका आधारमा सहकारी क्षेत्रको पुनर्संरचना, अनुगमन र विस्तारलाई पनि प्राथमिकतामा राखिएको छ।

अध्यक्ष देवकोटाले अघिल्ला वर्षहरूको अनुभव, सिकाइ र स्थानीय आवश्यकता विश्लेषणको आधारमा यो वर्षको नीति तथा कार्यक्रम तयार गरिएको उल्लेख गर्दै यो केवल कागजको दस्ताबेज नभई समृद्ध अजिरकोट निर्माणको कार्ययोजना भएको बताए।

जनसहभागितामार्फत योजना निर्माणदेखि निगरानीसम्म स्थानीय स्वामित्व स्थापित गरिने प्रतिबद्धता व्यक्त गर्दै उनले प्रशासन सेवाको स्रोत बन्नुपर्ने र सरकार जनताको विश्वास जित्ने माध्यम बन्नुपर्ने समय आएको धारणा व्यक्त गरे।

पुर्णपाठ

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ