सिरहा– पछिल्लो समय सामुदायिक वन तथा ऐलानी जग्गाहरूमा वनका कर्मचारीहरूकै सेटिङमा अवैध रूपमा ग्राभेल उत्खनन गरिरहेको पाइएको छ।
ऐलानी तथा सामुदायिक वनका जग्गाहरूमा ग्राभेल माफियाहरूले रातीको समयमा वनका कर्मचारी तथा प्रहरी प्रशासनसँगको मिलेमतोमा ग्राभेल उत्खनन गरिरहेको पाइएको हो।
गए राति गोलवजार नगरपालिका २ मुक्सारबाट सामुदायिक वन तथा ऐलानी जग्गाहरूबाट अवैध रूपमा उत्खनन गर्ने जेसिभि एकथान र एक थान ट्रिप्पर अवैध रूपमा ग्राभेल उत्खनन गर्ने क्रममा वन कार्यालयले नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिएका उक्त जेसिभि र स १ त ८३६ नम्बरको ट्रिफरलाई शुक्रवार वन वा ऐलानी जग्गाको अनुसन्धान नै नगरी सव डिभिजन कार्यालय गोलवजार चोहर्वाका कार्यालय प्रमुख आवेद हुसेनले छोडी दिएका छन् ।
कार्यालय प्रमुख आवेदले मोटो रकम लिएर निजी अवादी जग्गा रहेको भन्दै जरिवानाका लागी जिल्ला समन्वय समितिलाई चिठ्ठी पठाइएको जनाइएको छ।
कार्यालय प्रमुख हुसेनले ग्राभेल उत्खननको क्रममा पक्राउ गरेको जेसिभि र ट्रिफर साहु स्थानीय ठेकेदार विजय साहसँग आर्थिक चलखेल गरी निजी अवादीको झुटा कागज गरी जेसिभि, ट्रिफर र ड्राइभरलाई समेत छोडिएको प्रत्यक्षदर्शीहरू बताउँछन्।
ठेकेदार साह विगत ७ वर्षदेखि यी क्षेत्रहरूका ऐलानी पर्ती तथा सामुदायिक वनको जग्गाहरूबाट स्थानीय जनप्रतिनिधि तथा वन कर्मचारीहरूकै सेटिङमा प्राकृतिक स्रोतमाथि व्यापक दोहन गरिरहेको प्रत्यक्षदर्शीहरूको भनाई छ।
रातीको समयमा अवैध रूपमा ग्राभेल तथा खोलाको समेत बालुवा गिट्टी चोरी निकासी गरेको बारे सम्बन्धित निकायलाई जानकारी गराउँदा समेत उत्खनन भन्ने नरोकिएको स्थानीय शिव थापाको गुनासो छ। उनी भन्छन्, ‘राती उत्खनन भइरहेको कुरा वन, स्थानीय प्रहरी र सम्बन्धित निकायका सबैलाई जानकारी गराउँदा समेत उत्खनन वेरोकटोक चलिरहन्छ।
गत राति वनले नियन्त्रणमा लिएका गाडी साहु विजय साहले वनका कर्मचारीहरूलाई महिनावारीकै रूपमा मोटो रकम बुझाउने गरेको उनको दाबी छ। पछिल्लो सात वर्षदेखि ग्राभेल माफियाहरूले यो क्षेत्रको करिब विसौ बिघा जमिनबाट नियामक निकायकै मिलेमतोमा अवैध रूपमा प्राकृतिक स्रोत नै मासिने गरी व्यापक उत्खनन गरेको स्थानीय राम प्रकाश यादवले बताए।
उनले भने, ‘सिरहाका नियामक निकायका पदाधिकारीहरू नै बिकाऊ भएपछि ग्राभेल माफियाहरूले यस क्षेत्रमा एकछत्रीय राजनै चलाएको छ।’ यता, सोही विषयमा सव डिभिजन कार्यालय प्रमुख आवेद हुसेनलाई ऐलानीबाट उत्खनन गरिरहेको अवस्थामा जेसिभि र ट्याक्टर समात्नु भएको हो ? भनी प्रश्न गर्दा उनले भने ‘ ऐलानी वा निजी भन्ने यकिन गर्न सकिएन तर स्थानीयहरूको भनाइ अनुसार पक्राउ गरिएका जेसिभि र ट्रिफर चाहिँ निजी जग्गामा माटो सम्म्याउने काम गरिरहेको थियो । ट्रिफरमा लोड केही थिएन र पनि हामीलाई स्थानीयले दबाब दिएपछि ती दुई गाडी नियन्त्रणमा लिएका थियौँ तर भोली पल्ट एकजना स्थानीयले यो मेरो जग्गा हो भनी दाबी गरेकोले जेसिभि र ट्रिफरलाई जरिवाना काट्न लगाएर छोडिएको स्वीकार गरे।’
तर, डिभिजन वन कार्यालयबाट आएका एकजना वनकै कर्मचारीले भने, ‘खेत सम्म्याउन ट्रिफरको आवश्यकता नै पर्दैन। सव डिभिजनका प्रमुख जावेद हुसेनको दाबीलाई उनले उहाँले भनेको यो सबै झुटो हो। कार्यालय प्रमुख हुसेनले मोटो रकम लिएर ऐलानी जग्गालाई निजी बनाइएको हो। यसमा उनको सेटिङ रहेको उनले पनि दाबी गर्छ। यो सेटिङ विना सम्भव नै छैन।’
उक्त क्षेत्रबाट व्यापक रूपमा वनको र ऐलानी पर्तीहरू फडानी गरी ग्राभेल उत्खनन भैईरहेको सव डिभिजन कार्यालय चोहर्वा र इलाका प्रहरी कार्यालय मातहत मुक्सार प्रहरी चौकीमा पटक–पटक जानकारी गराउँदा समेत समयमा प्रहरीहरू नआउनाले पनि सेटिङ रहेको पुष्टि गर्छ।
सिरहाको उत्तरी चुरे क्षेत्रमा हुने अवैध उत्खननले स्थानीयहरू त्रसित बनिसकेका छन्।
प्रतिक्रिया