सुनसरी– आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाइमा मुलुकमा भइराखेको बेथितिको नेपाली कांग्रेस छड्के किनाराको साक्षी बनेको टिप्पणी गरेका छन् ।
१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा इनरुवामा आयोजित दलाल दलतन्त्र विरुद्ध खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘मुलुकमा बेथिति, भ्रष्टाचार, अनियमितता बढ्दै गइरहेको छ । प्रधानमन्त्री हरेक क्षेत्रमा असफल हुनुभएको छ र छड्के किनाराको साक्षी कांग्रेस हुनु दुखद छ । आम जनताले परिवर्तन र निकास खोजेका छन्,’ आजपा अध्यक्ष साहले भने, ‘एउटा गभर्नर नियुक्त गर्न नसक्ने सरकारले देश कसरी चलाउँछ ? सरकारले मुलुकलाई अन्योल बनाएको छ । यसरी मुलुक अगाडी बढ्न सक्दैन ।’
यस्तै उनले प्रधानमन्त्रीको स्टन्टले वैदेशिक सम्बन्ध बिग्रँदै गएको बताए । ‘मुलुकलाई अगाडी बढाउन असफल भएको वर्तमान सरकारको स्टन्टले वैदेशिक सम्बन्ध बिग्रँदै गएको छ । हाम्रा दुई छिमेकी भारत र चीनसँग सम्बन्ध राम्रो छैन । प्रधानमन्त्रीको स्टन्टले भारत सहितका देशसँगको सम्बन्ध बिग्रेको छ,’ उनले भने ।
श्रमजीवी, मजदुर सहित आम जनताको पक्षमा काम नगरी वर्तमान सरकार बिचौलिया र भगौडा वर्गको सेवामा लागेको उनले बताए । बिचौलिया र भगौडा वर्गको सेवा गरिरहेको सरकारले बिचौलियाकै सेटिङमा लागेकाले गभर्नर नियुक्तिमा ढिलाइ गरेको उनले बताए ।
नेपाल सहित विदेशमा श्रमजीवी मजदुरहरू विभिन्न समस्याका कारण तड्पिरहेको भए पनि सरकार मौन बसेको उनले बताए । विदेशमा काम गरिरहेका नेपाली मजदुरहरूले ट्रेड युनियनको हक अधिकार पाउनुपर्ने आजपा अध्यक्ष साहले बताए ।
‘अहिलेको २१औँ शताब्दीमा दास्ताको नारकीय जीवनमा धकेल्न पाइन्छ ? स्थायी जागिरेले आफ्नो अधिकारका लागि संगठन निर्माण गर्न पाउने, ग्रुप बार्गेनिङ गर्न पाउने तर पराई देशमा गएका युवा मजदुरले बोल्न पनि नपाउने यो कहाँको न्याय हो ?’ आजपा अध्यक्ष साहले सरकारसँग प्रश्न गरे ।
साहले नेपालको उद्योगमा नेपालीले रोजगार नपाउने र विदेशीलाई रोजगार दिने काम आफूलाई अस्वीकार्य भएको बताए । पहिलो प्राथमिकता नेपाली मजदुरलाई नै दिनुपर्ने उनले बताए ।
ट्रेड युनियनको हकलाई स्वीकार नगर्ने देशमा नेपाली मजदुर पठाउन नहुने उनले बताए । ट्रेड युनियनको मान्यता नदिने देशमा नेपालीलाई किन पठाएको भन्दै उनले सरकारसँग प्रश्न समेत गरेका छन् ।
यस्तै नेपालमा घरेलु कामदारको हक अधिकार सुनिश्चित नभएको बताए । नेपालमा काम गरिरहेका घरेलु कामदारको हितमा हुने गरी कानुन निर्माणमा सरकारले ढिलाइ गर्न नहुने उनले बताए । यथाशीघ्र घरेलु कामदारको हितमा हुने गरी कानुन निर्माण गर्नुपर्ने उनले बताए ।
प्रतिक्रिया