पोखरा– रुपा गाउँपालिका वडा नम्बर ७ स्याक्लुङ्कोट डिठ्ठा गाउँमा स्याक्लुङ्कोट होमस्टे’ (घरवास) सञ्चालनमा आएको छ ।
पोखराबाट पूर्व २४ किलोमिटर परको स्याक्लुङ्कोट डिठ्ठा गाउँमा स्थानीयको सक्रियतामा गुरुङ संस्कृतिमा आधारित होमस्टे सञ्चालनमा आएको हो ।
होमस्टेको गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले शिलालेख अनावरण गरेर उद्घाटन गरे ।
पोखराको पृथ्वीचोक, विजयपुर, तालचोक, बेगनासताल, सुन्दरीडाँडाँ, तालबेसी हुँदै १४ सय मिटर उचाइको स्याक्लुङ्कोट करिब ४० मिनेटमा पुग्न सकिन्छ । यो गाउँ निकै पुरानो हो । तत्कालीन बेलायती राजकुमार चाल्र्सले २०३९ मा पदयात्रा गर्दा यही ठाउँमा बास बसेका थिए । यहाँबाट मनोरम अन्नपूर्ण हिमशृङ्खला र पोखरा तर्फको मनोरम दृश्य देख्न सकिन्छ ।
सडक र खानेपानीको समस्याले स्थानीय बसाइ सरेर बजार झर्न थाले पछि डिठ्ठा गाउँ रित्तिने अवस्थामा पुगेको छ । ८५ घरधुरी रहेको स्याक्लुङ्कोटमा अहिले १७ घरधुरी मात्रै रहेको स्थानीय बत्ताउँछन् । अहिले भने गाउँमा पुग्ने अधिकांश सडक पक्की भएको छ भने थोरै मात्र सडक कच्ची छ । लिफ्टिङ गरेर घरघरमा धारामा पानी पुर्याइएको छ ।
अहिले भएका घर पनि बसाई जाने र गाउँ रित्तिने चिन्ताले होमस्टे सञ्चालन गर्न लागिएको अगुवा क्याप्टेन तेजबहादुर गुरुङ बत्ताउँछन् । ‘होमस्टे सञ्चालनले गाउँमा रहेका स्थानीयको आयआर्जन बढाउने र बजार झरेका पनि फर्कने वातावरण बन्ने गुरुङको अपेक्षा छ,’ उनले भने, ‘गाउँ सबै खाली भयो, खेतबारी बाँझो’ भयो होमस्टे सञ्चालन गरेर केही गर्न किन्छ की भनेर होमस्टे सञ्चालन गर्न गइरहेका छौँ।’
५ घरबाट होमस्टे सुरुवात गरिएको छ । एक रातमा ३० देखि ३५ जनालाई राख्न सक्ने क्षमता रहेको स्याक्लुङ्कोट होमस्टेका अध्यक्ष चन्द्रप्रसाद गुरुङले बताए । स्थानीय उत्पादन पर्यटकलाई खुवाउने र आयआर्जन बढाउने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याइएको हो ।
होमस्टेको उद्घाटन गदै मन्त्री गुरुङले नेपालको विशेषता अनुसारको विकासको खाँचो रहेको बताए । समृद्ध मुलुक र सुखी नेपाली बनाउन सबै भन्दा भरपर्दो माध्यम भनेको पर्यटन रहेको उनको भनाई थियो । अब आत्मनिर्भरता तर्फ जानु पर्छ समृद्ध देश सुखी नेपाली अबको हाम्रो यात्रा हो । त्यो यात्राको सबै भन्दा भरपर्दो भनेको पर्यटन विकास हो, उनले भने ।
होमस्टे उद्घाटन कार्यक्रममा बोल्दै रुपाका वडा नम्बर ७ का वडाध्यक्ष कृष्णराज सुवेदीले स्थानीय उत्पादन संस्कृति प्रवर्धन गदै पर्यटकलाई गाउँमा ल्याउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया