+
Search

ताजा अपडेट +

पपुलर +

मधेस प्रदेशसभा प्रधानमन्त्री

संविधान संशोधनका लागि समिति बनाएर काम गर्छौं: प्रधानमन्त्री

पालिका लाइभ
२०८१ चैत्र २६, मंगलवार

जनकपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको अनुभवका आधारमा विद्यमान व्यवस्थालाई सबल बनाउने लक्ष्यका लागि संविधान संशोधन गर्न राजनीतिक समिति बनाएर काम गरिने बताएका छन् ।

मधेस प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयको विकास र अनुभवका आधारमा विद्यमान प्रणालीलाई बलियो बनाउन तथा सुशासन र विकासका लागि उचित समयमा संविधान संशोधन हुने स्पष्ट गरे।

‘सामाजिक सद्भाव र राष्ट्रिय एकता बनाउनका लागि उपयुक्त समयमा संविधान संशोधन गर्छाैँ । त्यसका लागि एउटा नेकपा (एमाले) र नेपाली काँग्रेसको यो संयुक्त सरकारबाट राजनीतिक समिति बनाउँछौँ । तर प्याण्डोराका बाकस खोलेजस्तो गर्दैनौँ । प्रतिगमनका लागि ढोका खोल्न संविधान संशोधन गर्दैनौँ ‘, प्रधानमन्त्रीले भने, ‘राजतन्त्र फेरि ल्याउने भनेर केही केही लागेका छन् । विगतमा निरङ्कुश राजतन्त्रको कुशासन नदेखेका नयाँ पुस्तालाई भ्रम दिन खोजेका छन् । हामीले नयाँ पुस्ता सचेत बनाउनुपर्छ । आजको सचेत समाजले त्यस्तो सामन्ती व्यवस्था स्विकार्न सकिँदैन । गणतन्त्र यस देशको वर्तमान र भविष्य हो । प्रतिपक्षी पनि विद्यमान व्यवस्थाको पक्षमा रहनु खुसीको कुरा हो ।’

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्रको व्यवस्था जनताको सङ्घर्षको जगमा ल्याइएकाले यस व्यवस्थालाई सुव्यवस्थित बनाएर अगाडि बनाउने काम सबैको भएको उल्लेख गरे ।

‘यो श्रेष्ठ प्रणाली हो, हामीले यसको रक्षा गर्नुपर्छ । कलिलो अवस्थाको व्यवस्थाका केही कमजोरी भए होलान् तर सुधार गरेर जानुको विकल्प छैन ।’, उनले भने, ‘हामी अब गतिमा गइसकेका छौँ । यस प्रणालीअन्तर्गत संसद्को शपथ खाने अनि बाहिर गएर संविधान मान्दिनँ भन्ने खालका सोच राख्नु हुँदैन ।’

प्रधानमन्त्री ओलीले अनावश्यक हल्ला चलाइएको भए पनि दुई छिमेकीसँग हाम्रो राम्रो सम्बन्ध रहेको बताए । उनले थपे- ‘सँगै सुतेपछि खुट्टा लाग्छ, खुट्टा हटाऊ भनेपछि कुरा सकिन्छ । त्यसकारण नेपालको दुई छिमेकीसँग असल मित्रता छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ