+
Search

ताजा अपडेट +

पपुलर +

बुद्धशान्तिले जडान गर्‍यो इन्सिनरेटर, फोहोरमैला व्यवस्थापनमा अग्रणी पालिका बन्दै

पालिका लाइभ
२०८१ भाद्र ८, शनिबार

झापा– बुद्धशान्ति गाउँपालिकाले फोहोरमैलाको व्यवस्थापनका लागि इन्सिनरेटरको व्यवस्था गरेपछि फोहोरमैला व्यवस्थापनमा झापाका पालिकाहरूमध्ये अग्रणी बन्ने भएको छ ।

बुद्धशान्ति १ का सुजित बरालको पाँच कठ्ठा जमिन २० वर्षका लागि लिजमा लिएर फोहोरमैलाका लागि गाउँपालिका कार्यालयले व्यवस्था गरेको हो ।

राष्ट्रिय योजना आयोगबाट गत वर्ष ९० लाख रुपैयाँ विनियोजन भएर अहिलेका संरचना तयार भएको हो । यस वर्ष पनि आयोगबाट ७५ लाख रुपैयाँ विनियोजन भएको गाउँपालिका अध्यक्ष मनोज प्रसाईँले जानकारी दिए ।

पालिका क्षेत्रमा जनघनत्व बढ्दै गएको अवस्थामा भावी दिनमा फोहोरमैला व्यवस्थापनमा इन्सिनरेटरसहित फोहोर मैला व्यवस्थापनका लागि यो काम गरिएको उनले बताए । उनले भने, ‘अब हामी स्रोतमै फोहोरको वर्गीकरणमा लाग्छौँ । कुहिने फोहोरबाट मल उत्पादन गरेर किसानलाई उपलब्ध गराउने योजना छ । नकुहिने सिसाबिनाको फोहोर भने यही इन्सिनरेटरमा जलाउने योजना छ ।’

इन्सिनरेटर यसअघि नै बिर्तामोडमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पतालले सञ्चालनमा ल्याइसकेको छ ।

भारतको सोलिडटेक वेस्ट एण्ड डिस्पोजलद्वारा निर्मित उक्त इन्सिनरेटर वातावरणमैत्री रहेको बताइन्छ । उक्त मेसिनमा फोहोर जलाउन इन्धन वा विद्युतको आवश्यकता पर्दैन ।

इन्सिनरेटरमा धातुजन्य र सिसा बाहेकका फोहोर जलाउन मिल्ने बताइएको छ । इन्सिनरेटरमा फोहोर राखेर आगो सल्काए मात्र पुग्ने हुँदा शून्य लागतमा फोहोर जलाउन सकिने कम्पनीले दाबी गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ