+
Search

ताजा अपडेट +

पपुलर +

गोरखा भूकम्पका नाैं वर्ष, प्रभावितका लागि बन्न लागेको एकीकृत मिलन बस्ती अझै ‘अलपत्र’

पालिका लाइभ
२०८१ बैशाख १७, सोमबार

गोरखा– भूकम्प प्रभावितलाई स्थानान्तरण गर्न निर्माण थालिएको भीमसेन थापा गाउँपालिका–५, लामाचौरस्थित एकीकृत मिलन बस्ती निर्माण कार्यमा ढिलाइ भएको छ ।

धाँजो फाँटेर जोखिमपूर्ण अवस्थामा रहेको बस्तीमा ०७२ वैशाखमा गएको भूकम्पले थप क्षति पुगेपछि रिठ्ठेपानी, धरमपानी, पाण्डेगाउँ, डाँडागाउँ र नयाँबस्तीका भूकम्पपीडितलाई पुनः स्थापना गर्न सुरु गरेको झन्डै आठ वर्ष बितिसक्दा पनि अझैसम्म बस्ती निर्माण हुन सकेन ।

स्थानीयकै पहलमा ०७३ पुसदेखि लामाचौरमा बस्ती निर्माण थालिएको भए पनि बजेटको अभावमा काम सम्पन्न हुन नसकेको एकीकृत मिलनबस्ती पुनः निर्माण तथा विकास समितिका अध्यक्ष सुककुमार श्रेष्ठले जानकारी दिए ।

milan basti

‘सरकारले उपलब्ध गराउने तीन लाख अनुदानसहित अपुग रकम घरधनीबाट पनि सङ्कलन गर्ने र केही आर्थिक सहयोग जुटाएर बस्ती निर्माण गर्ने योजना बनाइएको थियो’, उनले भने, ‘पहिलो किस्ताको रकम प्राप्त गर्न ढिलाइ हुने भएपछि ऋण नै खोजेर काम थाल्नुपर्ने बाध्यता भयो, अहिले ऋण पनि बढ्दै गएको छ, बस्ती निर्माण पनि सम्पन्न गर्न सकिएको छैन ।’

बस्ती निर्माण गर्न लामाचौरमा एक सय पाँच रोपनी जमिनमा प्रतिपरिवारलाई करिब ६ आना जग्गा पुग्ने गरी एक सय ३८ घर निर्माण थालिएको थियो । ‘निर्माण थालिएकामध्ये ९० घर निर्माण भइसकेका छन्’, उनले भने, ‘पचास घरमा अहिले स्थानीय बस्न थालिसकेका छन् ।’ उनले बाँकी रहेका घर निर्माणकै प्रक्रियामा रहेको बताए ।

milana basti

कतिपय घरधनीबाट प्रतिबद्धता गरेअनुसारको रकम प्राप्त हुन नसक्दा पनि समस्या भएको अध्यक्ष श्रेष्ठको भनाइ छ । ‘निर्माण हुन बाँकीमध्ये केहीको अन्यत्रै घर भएकाले एकीकृत मिलन बस्तीमा घर बनाउन नचाहेको अवस्था छ’, उनले भने, ‘तत्काल केही घर नबनाई नहुने अवस्था छ, बजेट नहुँदा समस्या भएको छ ।’

घरधनीले प्रतिबद्धता गरेअनुसारको रकम उठे ऋण तिर्न नसके पनि तत्काल बनाउनुपर्ने अवस्थामा रहेका बाँकी घर बनाउन सकिने समितिले जनाएको छ । उनले बाँकी रहेका घर निर्माण गर्न आर्थिक स्रोतको खोजी भइरहेको बताए ।

‘घर निर्माण गर्न तत्काल बजेट प्राप्त हुने अवस्था देखिएन’, उनले भने, ‘अन्यत्रबाट भए पनि आर्थिक स्रोत जुटाउन सकिन्छ की भनेर लागिपरेका छौँ ।’ बस्तीमा प्रत्येक परिवारका लागि चार कोठाको दुई तला भएको घर निर्माण गरिएको छ । एउटा घर निर्माण गर्दा करिब ६ लाख ५० हजारभन्दा बढी खर्च भएको समितिले जनाएको छ ।

milan basti

बस्तीभित्र विद्युत्, सडक, खानेपानी तथा ढल निर्माण लगायतका काम भइरहेका छन् । तीस वटा घर ‘अक्सफाम’ नामक गैरसरकारी संस्थाको सहयोगमा निर्माण गरिएका हुन् ।

–रासस

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ