+
Search

ताजा अपडेट +

पपुलर +

जोखिममा खानीगाउँको ३२ परिवार, भन्छन्- भूकम्पले जमिन चिरा पर्न थालेको थियो, वर्षाले झन् बढायो

जोखिममा खानीगाउँको ३२ परिवार, भन्छन्- भूकम्पले जमिन चिरा पर्न थालेको थियो, वर्षाले झन् बढायो
पालिका लाइभ
२०८० श्रावण ३२, बिहीबार

गोरखा- उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, खानीगाउँ पहिराको जोखिममा परेको छ। बस्ती भएको जमिन चिराचिरा परेको छ। खानीगाउँका ३२ घर पहिरोको उच्च जोखिममा छन्।

गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङका अनुसार बस्ती माथिको जमिन चिराचिरा परेको छ। जमिन खाल्डो पर्दै गएपछि बस्ती जोखिममा परेको उनले बताइन्।

‘०७२ वैशाखमा गएको भूकम्पले खानीगाउँको जमिनमा चिरा पर्न थालेको हो’,उनले भनिन्, ‘केही दिनअघिको वर्षाले झन् जोखिम बढाएको छ।’

वर्षाले जमिन भासिँदै गएपछि अधिकांश घरको भित्री भागमा चिरा परेका छन्। घरको जगसमेत तलतल सर्दै गएको छ। घरभित्र एक बित्तासम्म चिरा परेपछि बास बस्न स्थानीय डराउने गरेको उनले बताइन्।

‘पहिरोको जोखिम बढेपछि बास बस्न खतरा छ, घरभित्र पसे अत्यास लाग्ने अवस्था छ’, उपाध्यक्ष गुरुङले भनिन्, ‘राति बास बस्न छिमेकीको घरमा जानुपर्ने बाध्यता छ।’

पहिराको त्रासले स्थानीय साँझपख छिटोछिटो घरमा खाना खाएर ओढ्ने-ओछ्याउने बोकेर आफन्तकहाँ बास बस्न जाने गरेको उनले बताइन्।

केही परिवार विद्यालयमा बास बस्न थालेका छन्। बस्ती खाली गरेर अन्यत्र सर्न स्थानीयलाई गाउँपालिकाले आग्रह गरेको छ। पहिरोले खानीगाउँका ३२ परिवारका एक सय पाँच जना जोखिममा छन्।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।