+
Search

ताजा अपडेट +

पपुलर +

बारपाकमा गाउँभरि अधिकांश बिरामी, गाउँपालिका अध्यक्ष भन्छन्- एकाएक फैलिएको संक्रमण हामीले धान्न सकेनौं

पालिका लाइभ
२०७८ जेष्ठ १३, बिहीबार

गोरखा- बारपाक-सुलिकोट गाउँपालिका वडा न १ र २ बारपाकमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका ब्यक्तिको संख्या बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

गाउँपालिका अध्यक्ष बिष्णप्रसाद भट्टले एक विज्ञप्ति जारी गर्दै बारपाकमा माहामारी रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।

बुधबार राती तीन जना सहित जेष्ठमहिनामा मात्र १२ जनाको मृत्यु भएपछि सबैमा कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएको शंका गरिएकाे छ। २४ घण्टादेखि वारपाकमा लगातार झरी परिरहेको र चिसो बढेको स्थानीयले बताएका छन् । स्वास्थ्यकर्मीहरुले बारपाकमा कोरोना परिक्षणलाई ब्यापक बनाउनु पर्ने र पोजेटिभ रिपोर्ट आएकाहरुलाई अनिवार्य आइसोलेशनमा बसाउन सके कोरोना संक्रमण अनियन्त्रित रुपमा फैलन नपाउने बताउँदै आएका छन् ।

स्वास्थ्य शाखाको रकर्ड अनुसार बारपाकमा मात्रै ८८ जनामा एन्टिजेन परिक्षण गर्दा ४४ जनामा एक्टिभ देखिएको थियो भने २५ जनाको पिसिआरमा १९ जना पोजेटिभ देखिएको छ । पालिकाले हाल सम्म १२७ जना पिसिआर र २६८ जनाको एन्टिजेन गरिसकेको छ । जस मध्ये १९९ जनामा संक्रमण देखिएको थियो ।

जिल्लामा बिहीबारसम्म कोरोनाबाट २५ जना संक्रमितले ज्यान गुमाएका छन् । कुल २८ सय संक्रमित रहेको गोरखामा अहिले पनि १३ सय बढी सक्रिय संक्रमित रहेको

गाउँपालिका अध्यक्ष भन्छन्- एकाएक फैलिएको संक्रमण हामीले धान्न सक्दैनाैं

गाउँपालिकाका अध्यक्ष भट्टले बारपाकको अवस्था गाउँपालिका एक्लैले थेग्न नसक्ने बताए। ‘तत्काल त्यहाँ प्रदेश र संघिय सरकारले चिकित्सक सहितको टोली पठाउनुपर्छ’ एक प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेका छन् ‘सिङ्गो गाउँभरी कोरोनाको लक्षण मिल्दोजुल्दो बिरामी रहेकाले तत्काल त्यहाँ चिकित्सकसहितको टोली आवश्यक रहेको छ ।’

‘त्यहाँ स्थानीयलाई काउन्सिलिङ गर्नुपर्छ, बिरामीलाई घरघरमा गएर जाँच गर्ने, उपचार गर्ने, औषधी बितरण गर्ने गर्नुपर्नेछ’ उनले भने ‘यसका लागि गाउँपालि पनि तयार छ।’ गाउँपालिकासँग भएको जनशक्ति र क्षमताले त्यहाँको भयावह अवस्था हेर्दा धान्न नसक्ने भएको बताउँदै उनले सचेतनाका कार्यक्रम सहित जानुपर्ने बताए।

152021 barpark

परिक्षण गर्न मान्दैनन् स्थानीय

कोरोना परिक्षण नभई मर्नेहरुमा पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको वडा नम्बर २ का वडाध्यक्ष लालबहादुर गुरुङ बताउँछन् ।

उनी भन्छन्, ‘मृतक अधिकांस बृद्धबृद्धाहरु छन् । मर्नेहरुमा रुघा, खोकी, ज्वारो आएको र स्वासप्रस्वासमा समस्या देखिएको आफन्तहरु बताउँछन् । तर, परिक्षण भएको छैन । परिक्षण नै नभई कोरोना भन्न मिलेन ।’ शंकास्पद मृत्यु भएता पनि स्थानीयहरुले मृतकको चलनचल्ती अनुसार नै दाहसंस्कार गर्ने गरेका छन् ।

1546736054Laprak

उनी भन्छन्, ‘कोरोना परिक्षण नै नगरेकाले मृतकका आफन्तहरुले स्थानीय परम्पराअनुसार आफन्तहरुले अन्त्यष्टि गर्ने गरेका छन् । पहिले पहिले जस्तो धेरै मान्छे त हुँदैनन् तर मृतकका आफन्तहरु भने सबै जम्मा भएर दाहसंस्कार गर्ने गर्छन् ।’

१२ सय घरधुरी रहेको बारपाक गाउँमा करिब साढे पाँच हजार जनसंङ्ख्या छ । बारपाकमा हालसम्म दुुई पटक गरी ८९ जनाको एण्टिजेन परिक्षण गर्दा ४४ जनामा पोजेटिभ र २५ जनाको पिसिआर गर्दा १६ जनाको पोजेटिभ रिपोर्ट आएको छ । त्यसपछि यहाँ कोरोना परिक्षण नै भएको छैन ।

प्रदेश जनस्वास्थ्यकाे टाेली शुक्रबार बारपाक जाँदै

स्वास्थ्य निर्देशनालय पाेखराका अनुसार  चिकित्सक सहितकाे टाेली शुक्रबार बारपाक जाने भएकाे छ । गाउँपालिकाका अध्यक्ष भट्टले बारपाकमा एकाएक फैलिएको संक्रमण गाउँपालिकाले मात्र धान्न नसक्ने भन्दै एक विज्ञप्ति जारी गरेपछि प्रदेशकाे चिकित्सक सहितकाे टाेली  जान लागेकाे हाे ।

15201201 gandaki notice

टाेलीमा २ जना कन्सल्टेन्ट डाक्टर, २ जना मनोपरामर्श, ल्याव टेक्निसियनसहितकाे टाेली जान लागेकाे हाे । २०७२ सालकाे विनाशकारी गाेरखा भुकम्पपछि याे क्षेत्रमा २ चाेटी माहामारी फैलिसकेकाे छ ।

गाेरखाका प्रजिअ भन्छन्, ‘भोलीसम्ममा स्वास्थ्यकर्मीको टोली पठाउँछौँ’

कोरोना रोकथाम तथा व्यवस्थापन समिती (डिसिसिएमसी)का संयोजक तथा गाेरखाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शालिकग्राम पौडेलले भाेलीसम्म स्वास्थ्यकर्मीको टोली वारपाक पठाउने गरी तयारी गरिरहेको बताए ।

cdo office gorkha

‘त्यहाँ हामीले पहिला पनि परिक्षणका लागि टोली पठाएका थियौँ । तर स्थानीयहरु परिक्षण गर्न नै मान्नुभएन । हामीले अहिले त्यहाँका निर्वाचित जनप्रतिनिधी, दलिय प्रतिनिधीसँग समवनय गरेका छौँ, उहाँहरुले परिक्षणका लागि स्थानीहरुलाई कन्भिन्स गर्नुहुनेछ भन्ने आशा गरेका छौँ’, उनले भने, ‘भोली प्रदेश सरकारले पनि स्वास्थ्यकर्मीको टोली पठाउने भनेको छ । मैले पनि जिल्ला अस्पताल, स्वास्थ्य कार्यालयसहितको टोली गठन गर्दै छु । उहाँहरुलाई सुरक्षा व्यवस्थाका लागि प्रहरीलाई भनेको छु। भोली स्वास्थ्य कर्मीको टोली त्यहाँ पुग्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ