काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित सबै नेपालीको निशुल्क उपचार हुने र कुनै पनि अस्पतालले बेड लुकाएमा कारबाही गर्ने भनि घोषणा गरेको २४ घण्टा नबित्दै मुलुकका दुई ठूला अस्पतालले धान्नै नसक्ने गरी कोभिडका बिरामीको लागि नयाँ शुल्क निर्धारण गरेका छन् ।
धुम्बाराही रिङरोडमा रहेको हेम्स अस्पतालले कोभिडका बिरामीको लागि प्रति दिन आधा लाख रुपैयाँ (बेड शैया) शुल्क लाग्ने सूचना नै जारी गरेको छ । चिकित्सक भगवान कोइरालासहितले सञ्चालन गरेको सो अस्पतालले कोरोना संक्रमितको लागि आइसोलेसन डिलक्स रुम भन्दै प्रति बिरामी दैनिक ५० हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ ।
सो अस्पतालले डिलक्स रुमको २६ हजार र प्राइभेट रुमको २१ ह्जार भनी बेड शुल्क निर्धारण गरेको छ । यो अस्पतालले बिरामीको उपचारमा भिजिट चिकित्सक आएमा प्रति भिजिट एक हजार पाँच सय रुपैयाँ तोकेको छ ।
यस्तै, शुनिल शर्मा संचालक रहेको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले १९ गते बैशाखदेखि लागू हुने गरी भनेर कोभिड क्याबिन सुपर डिलक्सको ३० हजार, कोभिड क्याविन डिलक्सको २५ हजार र सिंगल बेडको २० हजार रुपैयाँ प्रति दिन प्रति बेड शुल्क निर्धारण गरेको छ ।
कोभिडका बिरामीले अस्पतालमा अक्सिजन र बेड नपाएको भनेर सामाजिक सञ्जालदेखि संक्रमितका आफन्तहरुले गुनासो गरे पनि निजी अस्पतालले आफूखुसी बेड चार्ज घोषणा गरेका छन् । निजी क्षेत्रका अन्य अस्पतालले समेत महंगो शुल्क लिएर बिरामीबाट अकुत रकम आर्जन गरिरहेका छन् । तर, सरकारको निर्देशन उल्लंघन गर्ने स्वास्थ्य संस्थालाई सरकारले कुनै कारबाही गरेको छैन् ।
यता औषधि व्यवस्था विभागले कोरोना संक्रमितको लागि अत्यावश्यक औषधि रेमिडिसिभिर पर्याप्त मात्रमा बजारमा रहेको भनी आमनागरिकको आँखामा छारो हाल्ने गरेको छ । सरकारी अस्पतालले सो औषधि मौज्दात नरहेको बताउँदै आएका छन् भने निजीले अबैद्य र गैरकानूनी ढंगले महंगो शुल्क लिएर बिरामीलाई उपलब्ध गराउँदै आएका छन् ।
स्वास्थ्य मन्त्रालय, विभाग कानमा तेल हालेर बसेका कारण काठमाडौंका ह्याम्स, केएमसीसहित अस्पतालहरुले कोरोना पीडितलाई उपचारका नाममा घरको न घाटको बनाउँदै आएका छन् । त्यहाँ उपचार गर्ने विरामीलाई प्रशासनले सिंगो मन्त्रालय हाम्रो हातमा छ, तपाईहरु जहीँसुकै गएर उजुरबाजुर गर्नुस् भनी धम्की दिने गरेको पीडितहरुले सुनाएका छन् ।
‘किन यति धेरै पैसा ? भनी प्रश्न गर्दा विरामीको उपचार ठूलो कुरा हो । धेरै कुरा नगर्नुस् । मन्त्रालयका मन्त्रीदेखि सचिव सबै हाम्रै हातमा हुन् भन्दै तर्साइयो,’ एक पीडितले भने ।
ह्याम्स अस्पतालले जनरल बेडको लागि प्रतिबेड प्रतिदिन ७ हजार रुपैयाँ, ट्विन शेयरिङ्ग रुमको लागि १५ हजार, प्राइभेट रुमको लागि २१ हजार, डिलक्स रुमको लागि २७ हजार र स्विट रुमको लागि एक दिनको ५० हजार रुपैयाँ तोकेको छ । त्यस्तै गरी आइसियु बेडको चार्ज २२ हजार तोकिएको छ ।
यो बेडको मात्र मूल्य हो । अन्य औषधि, डाइग्नोसिस, नर्स, डाक्टरको भिजिट, खाना, म्यानेजमेन्ट भन्दै अन्य शीर्षकमा लाखौं असुल्ने गरिएको छ । विगतमा यो अस्पतालको व्यवस्थापनले नै स्वास्थ्य मन्त्रालयसँग मिलेर कोरोना सम्बन्धित स्वास्थ्य सामग्री विदेशबाट ल्याउने जिम्मा पाएको थियो । त्यसमा करोडौं घोटाला भएको भन्दै आलोचना भएको थियो ।
सङ्क्रमण तीव्र रूपमा फैलिएसँगै निजी अस्पतालहरूले मनलाग्दी रूपमा बेडको मूल्य तोक्न थालेका छन् । कोभिड–१९ को चपेटामा मुलुक परेको बेला मानवीय संवेदना गुमाई अस्पतालहरुले लुटधन्दा चलाएको तर सरकार मौन बसेको भन्दै जनता आक्रोशित बनेका छन् ।
प्रतिक्रिया