+
Search

ताजा अपडेट +

पपुलर +

सामाजिक दूरीले पनि रोक्न सकेन महिला हिंसा : लकडाउनमा हरेक दिन पाँच महिलामाथि बलात्कार

पालिका लाइभ
२०७७ असार ८, सोमबार

काठमाडौं- रौतहटको ईशनाथ नगरपालिका– ५ लक्ष्मीनियाँकी २३ वर्षीया रेखादेवी ठाकुरको वर्षदिनअघि गाउँकै सञ्जय ठाकुरसँग विवाह भयो । सञ्जयको परिवारले ११ लाख नगद दाइजो पनि लिए ।

तर, दाइजो रकम सञ्जयका बुबा नागेन्द्र आफैँले राखे । सञ्जयले बुबासँग उक्त रकम माग्ने आँट गरेनन्, बरु पत्नी रेखादेवीलाई माइतबाट थप रकम ल्याउन भन्दै यातना दिन सुरु गरेकाे खबर नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

यातनाको शृृंखला बढ्दै गएपछि रेखादेवी ज्यान जोगाउँदै माइत गइन् । केही समयपछि सञ्जयले आगामी दिनमा यातना नदिने प्रतिबद्धता गरेर पत्नीलाई घर ल्याए ।

तर, रेखादेवीमाथिको यातना रोकिएन, झन् बढ्यो । यही क्रममा आठ महिनाकी गर्भवती रेखादेवी १८ वैशाखमा घरमै मृत फेला परिन् ।

मृतकका भिनाजु रोशन ठाकुरका अनुसार रेखादेवीको घाँटीमा नीलडाम थियो, अनुहारमा रगतका टाटा र कपाल असरल्ल छरिएका थिए ।

भक्तपुरको ठिमी नगरपालिका– ६ स्थित पुरानो थिमी बस्ने २० वर्षीया युवती गत ८ जेठमा चिनजानकै साथीको योजनामा सामूहिक बलात्कारमा परिन् ।

नजिकै डेरा गरी बस्ने २२ वर्षीय रोहित गिरी चिनजानकै थिए । उनले युवतीलाई ललाइफकाई डेरामा लगेर बलात्कार गरे ।

पीडित युवती घर जान चाहन्थिन्, तर रोहितले जान दिएनन् । बरु, छिमेकमा बस्ने २९ वर्षीय कवाङ लामासहितका चार साथीलाई समेत कोठामा बोलाए । र, युवतीलाई रातभर पालैपालो बलात्कार गरे ।

पीडित युवतीले दोस्रो दिन नै प्रहरीमा जाहेरी दिएकी थिइन् ।

गिरी पक्राउ परे पनि अन्य चार युवक भने फरार छन् । भक्तपुर प्रहरीका प्रमुख एसपी सविन श्रेष्ठले सामूहिक बलात्कार भएको र घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताए।

पूर्वी चितवनको खैरनीस्थित सिमलटाँडीका कृष्णप्रसाद अधिकारीका दुई श्रीमती थिए ।

जेठी शर्मिला र कान्छी मञ्जुबीच मिलाप थिएन । दुई पत्नीबीचको झगडामा कृष्णप्रसादले भने प्रायः शर्मिलालाई नै साथ दिन्थे ।

गत वैशाखको अन्तिम साता मञ्जु र कृष्णप्रसादबीच भएको विवादले झडपको रूप लियो ।

शर्मिलाले स्वाभाविक रूपमा श्रीमान्को साथ दिइन् । आवेगमा कृष्णप्रसादले मञ्जुलाई यति कुटपिट गरे कि उनको प्राण नै गयो । घटनाको अनुसन्धानपछि प्रहरीले कृष्णप्रसाद र जेठी श्रीमती शर्मिलालाई पक्राउ ग¥यो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ