काठमाडौं- राजन राउतले घरको आँगनभन्दा बाहिर निस्किन नपाएको ३५ दिन भयो।
कोरोना भाइरस रोग (कोभिड-१९) सङ्क्रमणका कारण स्थानीय प्रशासनले पुरै गाउँ सिल गरेपछि चारैतिर सुरक्षाकर्मी छन्।
आफ्नै सुरक्षका लागि भए पनि बन्दाबन्दी अब कठिन हुँदै गएको खबर आजको गोरखापत्र दैनिकमा उदयपुरबाट भक्तिविलास पोखरेलले लेखेका छन्।
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के गाउँका ५० वर्षीय राउतले भने, ‘यसरी कुँजिएर घरभित्रै बस्नु पनि निकै ठूलो सास्ती खेप्नु जस्तै भएको छ।’
नेपालमा पहिलोपल्ट २४ जना कोरोना भाइरसबाट सङ्क्रमित पुष्टि भएको भुल्के गाउँको जनजीवन बिस्तारै खुकुलो हुने आशा पलाएको स्थानीयवासीको भनाइ छ।
गत वैशाख ५ गते यहाँको नुरी मस्जिदमा बस्दैआएका १२ जना मुस्लिम धर्म प्रचारक (जमाती) मा कोरोनाभाइरस सङ्क्रण भएको पाइएपछि स्थानीय प्रशासनले पुरै गाउँ सिल गर्याे।
सङ्क्रमण फैलिन नदिन कडा सुरक्षा घेरामा स्थानीयवासीलाई आआफ्नै घरआँगनमा मात्र सीमित राखेको छ । बन्दाबन्दीको कडाइका साथ परिपालना गरिएको छ।
स्थानीयवासी गत चैत ११ गतेबाट गरिएको बन्दाबन्दीबाट घरभित्रै उकुसमुकुस भएर बसिरहेका थिए । तर बन्दाबन्दीको प्रभावकारी परिपालना सुरुका दिनमा नदेखिएको स्थानीयवासीको भनाइ छ।
एकाएक आफ्नै टोलमा ठूलो सङ्ख्यामा कोरोना पोजेटिभ देखिएपछि भने भुल्के त्रस्त भयो । कोरोनाबाट ज्यानै पो जान्छ कि भन्ने आशङ्का उत्पन्न भयो । स्थानीय चक्रपाणि पोखरेल भन्छन्, ‘‘अब बाचिँदैन कि जस्तो हुन थालेको थियो।’
विभिन्न अडकलबाजी गर्नेहरूले चिन्ता अझ बढेको भन्दै पोखरेलले भने, ‘‘सामाजिक सञ्जालमा त भुल्के बम नै भयो । तर अब बिस्तारै कुरा बुझ्न थालियो। आफैँ सचेत हुनुपर्ने रहेछ भन्ने चेत आएको छ। अब त कोरोनाभन्दा खेतीपातीको चिन्ता लागेको छ।’
कतिपयले जात र धर्मलाई जोडेर गाउँमा कोरोना भित्र्यायो भन्ने प्रचार गरेका र त्यसबाट आफूहरू झनै चिन्तित बनेकोमा अहिले त्यस्तो स्थिति नरहेको तथा सामाजिक सद्भावलाई खलबलिन नदिन सबै पक्षको उचित सहयोग भएकोले भुल्केको सामाजिक जीवन क्रमशः सामान्य हुँदै गएको स्थानीय अनिश मियाँले बताए।
प्रतिक्रिया