गोरखा– सिरानचोक गाउँपालिकाको विभिन्न ठाउँमा धुमधामले दशै मनाइएको छ । आम नेपालीले मनाउने विजयाँ दशमी आउनु एक महिना अघि नै छोप्राक र आसपासका स्थानीयले दशै मनाएका हुन् ।
‘शास्त्रिय मान्यता अनुसार गलत तिथि चाड पर्व मनाउदा शुभ फलको साटो अशुभ फल प्राप्ती हुन्छ’ पर्व सुधार अभियानका अगुवा कृष्ण पोखरेलले भने ‘समय अनुसार हाम्रा चाड पर्व एक महिना अघि सार्नुपर्ने देखिन्छ । सोही कारण हामीले अहिले दशै मनाएका हौ ।’
छोप्राकका हरिनारायण मल्ल, कृष्ण पोखरेल लगायतका व्यक्तिले सुरु गरेको यो अभियान अहिले गाउँपालिका भरी बिस्तार भएको छ ।
सोही अनुरुप आईतबार धर्मामावती मावि, सर्वोदय आधारभूत विद्यालय, मण्डली मावि, आहाल भञ्जाङ, जन ज्योति लगायतका सबै सामुदायिक विद्यालयमा दशैको टिका लगाएको सर्वोदय आधार भूत विद्यालयका शिक्षक भरत देवकोटाले जानकारी दिए ।
‘विगतमा जस्तै यस वर्ष पनि हामीले विद्यालयमा अभिभावक र विद्यार्थी सबैलाई बोलाएर टिकाटालो गरयौं’ उनले भने ‘यसपाली विद्यालयको अलवा चामडाँडा, श्रीनाथ मण्डली लगायतका ठाउँमा पनि टिका लगाइएको छ ।’
नेपाली पात्रो अनुसार असोज १२ गते पर्ने घटस्थापना र २१ गते दशैको टीका भए पनि उनीहरुले भने भाद्र १३ गते जमरा राखेर आइतबार धुमधामका साथ टीका लगाएका हुन ।
पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिका सदस्य सचिव हरिनारायण मल्लको सुझावमा २०६९ साल देखि हरेक वर्ष दसै मनाइएको स्थानियहरुको बताएका छन् ।
‘यस पटक हामी ऐतिहासिक सिराचोकको मण्डलीमा गएर टिका लगाऔं’ अगुवा पोखरेलले भने ‘बिस्तारै हाम्रो अभियानले व्यापकता पाउँदै छ । एउटा गाउँबाट सुरु भएको अभियान बिस्तारै राष्ट्रिय रुपमा स्थापित हुँदैछ ।’
बैद्धिक पात्रोमा समेत आइतबार बिजयाँ दशमी भनेर उल्लेख भएको उनले दाबी गरेका छन् ।
हरेक २१५० वर्षमा ऋतु एक महिना अघि सर्ने हूँदा हाल चलिरहेको पात्रो अनुसार सूर्य उत्तरायण र दक्षिणायन हुने समय समेत परिवर्तन भई २४ दिन अघि सरेकाले एक महिना अघि दशै मनाईको पोखरेलेको भनाई छ ।
‘स्थापित मान्यता अनुसार हरेक ७२ वर्षमा एक दिन समय घट्छ अहिले सम्म २४ दिन समय घटि सकेको छ’ उनले भने ‘त्यसले हाम्रा चाडपर्व एक महिना अघि सार्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’
प्रतिक्रिया