काठमाडौं– ‘सबै तहका सरकार, सबै नागरिकको तयारी: भूकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी’ भन्ने नारासहित आज काठमाडौँको नयाँ सडकस्थित भूगोल पार्कमा २८ औँ भूकम्प स्मृति सभा सम्पन्न भएको छ ।
वि स १९९० साल माघ २ गते र त्यसपछिका विनाशकारी भूकम्पबाट भएको क्षति अबका पुस्ताले व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ । यस प्रकारको सम्झनासँग विगतका गल्ती नदोहोर्याउने प्रतिबद्धता जोडिएको छ ।
विगतका विनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।
भूकम्पलाई विज्ञानसँग जोडेर २०५७ सालसम्म विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम आयोजना गरेको थियो । २०५८ सालदेखि गृहमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति समिति गठन मनाउन थालिएको हो ।
स्मृति सभालाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले, भूकम्पीय क्षति घटाउन पूर्व तयारीको संयन्त्र बलियो बनाउनु पर्ने बताउँदै यसका लागि अन्तरसरकार समन्वय बढाउँदै लैजानु पर्ने, स्थानीय सरकारहरूबाट भएका प्रयासहरूलाई संस्थागत गर्दै लैजानु पर्ने बताए।
‘आपसी अभ्यास र सिकाइले क्षमता बढाउन सक्छ । उनले भने,‘नागरिक सचेतना र उत्थानशील सहरका आधारभूत सूचकको कार्यान्वयनमा क्षमता बढाउँदै लैजानु पर्छ ।’
महानगर उपप्रमुख सुनिता डंगोलले समुदायको क्षमतालाई विपद् पूर्वतयारी, खोज उद्धार, पुनः स्थापना र पुनर्लाभको औजार बनाउनु पर्नेमा जोड दिइन् । ‘विपद्का समयमा पहिलो उद्धारकर्ता तथा सहजकर्ता समुदाय नै हो ।’ डंगोलले भनिन्, ‘महानगरपालिकालाई विपद् उत्थानशील सहर बनाउन अन्तरसरकार समन्वय, आपसी ज्ञान र सिपको आदान प्रदान तथा एकीकृत योजना पहिलो सर्त हो । यसका लागि मिलेर काम गरौँ ।’
‘भूकम्पजस्ता विपद्को क्षति सम्झना गर्न थालेको धेरै भएको भन्दै अब क्षति हुन नदिने प्रणाली विकास गर्नमा काम गर्नु पर्ने बेला आएको महानगरपालिकाको विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले बताए ।
उनले भने, ‘प्रतिरोधी संरचना निर्माण गर्न रैथाने सिपको प्रयोग हुन सक्छ । हाम्रा प्राचीन संरचनाले ठुला भूकम्पको कम्पन थेगेका छन् । यो सिपलाई प्रवर्धन गरौँ ।’
विगतका भूकम्पले मानव समाज, भौतिक संरचना र सम्पत्ति तथा वातावरणीय सन्तुलनमा पुर्याएको प्रतिकुल असरको लेखाजोखा गरेर विपद्का समयमा सकेसम्म सुरक्षित बनाउन, जुझारु उत्थानशील सहरका रूपमा रूपान्तरण गर्न संकल्पमा जोड दिइएको थियो ।
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकारीहरू, महानगरपालिकाका नगर सभा सदस्यहरू, विभागीय प्रमुखहरू, विपद् व्यवस्थापनमा सक्रिय गैरसरकारी तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए ।
यस वर्ष महानगरले आज दिउँसो १ बजे खुला मञ्चमा मूल समारोह आयोजना गर्नेछ । यस अवसरमा विपद् पूर्वतयारी, खोज तथा उद्धारसँग सम्बन्धित साधन, उपकरण, प्रविधि, सेवा प्रदर्शन गरिनेछ ।
विश्वमान चित्रमा भूकम्पजन्य विपद्का दृष्टिले नेपाल ११ औँ स्थानमा छ ।
स्मृति सभामा आगलागी, सडक दुर्घटना तथा विपद्जन्य जोखिममा काम गर्ने नगर प्रहरीहरूलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो ।
प्रतिक्रिया