+
Search

ताजा अपडेट +

पपुलर +

एमालेमा उल्टियो विधान महाधिवेशनको निर्णय, केन्द्रीय कमिटी फेरि ३०१ सदस्यीय बन्ने

पालिका लाइभ
२०८२ मंसिर २८, आईतवार

काठमाडौं– नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनको निर्णयलाई संशोधन गर्दै पदाधिकारी र कमिटीको संख्या पुरानै अवस्थामा फर्काएको छ । यससँगै पार्टीको केन्द्रीय कमिटी फेरि ३०१ सदस्यीय बन्नेको छ ।

गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पदाधिकारी संख्या १५ मा सीमित गर्ने र स्थायी कमिटी नै नराख्ने निर्णय गरेको थियो । केन्द्रीय कमिटीको आकार पनि २५१ सदस्यीय बनाइएको थियो ।

तर आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी संख्या बढाउनुपर्ने दबाब रहेको भन्दै संशोधन प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव बहुमतले पारित भएको हो ।

संशोधित व्यवस्थाअनुसार अब पार्टीमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जना गरी कुल १९ जना पदाधिकारी हुनेछन् ।

यसैगरी ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटव्युरो कायम गरिएको छ । यसरी पदाधिकारीसहित केन्द्रीय कमिटीको कुल संख्या ३०१ पुगेको छ ।

विधान महाधिवेशनले मिहिनेतपूर्वक टुंग्याएको संगठनात्मक संरचनालाई तीन महिनामै उल्ट्याइएपछि पार्टीभित्रै विरोध भएको छ ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संख्या बढाउँदैमा पार्टीको क्षमता नबढ्ने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

‘बदलिएको परिस्थितिले अंक बढाउन भनेको होइन,’ उनले भने, ‘बदलिएको परिस्थितिले त हामी सबैलाई बदलिनु भनेर जबरजस्त सन्देश दिएको छ । संख्या बढाएर क्षमता बढ्छ भने अघिल्लो पटकको हाम्रो क्षमता जाँचिएन र ?’

उनले दुई कार्यकालको सीमालगायत अन्य विषयमा पनि छलफल हुनुपर्ने बताए ।

‘दुई कार्यकालबारे पनि कुरा उठेको छ, यसबारे छलफल नहुने ?’ उनको प्रश्न छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ