कात्तिक- मनसुन सकिएपछि खुल्न थालेको मनाङको आकाशसँगै हिमाली जिल्लामा फेरि पर्यटकको चहलपहल बढ्न थालेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गतको मनाङमा सिजन सुरु भएसँगै डेढ महिनाको अवधिमा सात हजारभन्दा बढी विदेशी पर्यटक आएका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई कार्यालय मनाङका संरक्षण शिक्षा सहायक भूपेन्द्र गुरुङका अनुसार सिजन सुरु भएपछि हालसम्म ७ हजार ४६१ जना विदेशी पर्यटक मनाङ भित्रिएका छन्। तीमध्ये इजरायलका १ हजार १२७, जर्मनीका ५०१, युनाइटेड किङडमका ४६६ र अस्ट्रेलियाका ४४१ नागरिक छन्। गुरुङका अनुसार विश्वका ८७ देशका पर्यटकहरूले अन्नपूर्ण पदमार्ग, थोराङ्ला पास, लार्के पास र तिलिचो ताल क्षेत्रको भ्रमण गरेका छन्।
‘जेनजी आन्दोलन र मनसुनको कारण अघिल्ला महिनामा पर्यटक आगमनमा ठुलो असर परेको थियो,’ उनले भने, ‘तर अहिले शान्ति कायम हुँदै गएपछि विदेशी आगमन फेरि बढ्न थालेको छ।’
पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार आन्दोलन र प्राकृतिक विपत्तिले यस क्षेत्रको पर्यटन व्यवसाय ठप्पजस्तै भएको थियो। ‘विदेशीहरूले गरेका बुकिङसमेत रद्द भएका थिए, अहिले फेरि होटलहरू भरिन थालेका छन्,’ उनले बताए।
होटल व्यवसायी नवीन विक्रम सिंहका अनुसार अघिल्लो वर्षको तुलनामा आगमन अझै कम भए पनि सुधारको संकेत देखिन थालेको छ। ‘अहिले विदेशी पाहुनाले फेरि मनाङ फर्किन थालेका छन्,’ उनले भने, ‘तर अघिल्ला वर्षजस्तो भीड छैन, आंशिक मात्रामा मात्र आगमन भइरहेको छ।’
गत भदौमा जेनजी आन्दोलनका क्रममा देशकै चर्चित हिल्टन होटल जलाइएपछि धेरै विदेशी पर्यटक त्रसित बनेको पर्यटन व्यवसायीहरूको अनुमान छ। तर अहिले सडक र पदमार्ग सुधार हुँदै गएपछि पर्यटकहरू पुनः मनाङतर्फ आकर्षित हुन थालेका छन्।
अन्नपूर्ण पदमार्ग विश्वकै १० औँ जोखिमयुक्त पदमार्गमध्ये एक मानिन्छ।
लमजुङको बेँसीसहरबाट सुरु हुने यो पदमार्ग लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्लामा फैलिएको छ। पछिल्लो समय सडक विस्तारसँगै सवारीसाधन चामे र खाङ्सारसम्म पुग्ने भएपछि मनाङ भ्रमण अझ सहज बनेको छ।
पर्यटकहरू यहाँको प्राकृतिक सौन्दर्य, हिमाल–पहाडका दृश्य, तिलिचो ताल, र स्थानीय संस्कार–संस्कृतिको अनुभवका लागि आउने गर्छन्। नेपाली पर्यटकहरूको आन्तरिक भ्रमणसमेत बढ्दै गएको र ग्रामीण पर्यटन विस्तारमा सहयोग पुगेको व्यवसायीहरूको भनाइ छ।
प्रतिक्रिया