काठमाडौं– भदौ २३ गतेको जेनजी आन्दोलनमा प्रदर्शनकारीको मृत्यु भएको घटनापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने माग बढेसँगै सरकारले उच्चस्तरीय छलफल गरेको छ।
‘हामी नेपाल’ समूहका संयोजक सुदन गुरुङसहितको टोलीले सोमबार साँझ काठमाडौं जिल्ला प्रहरी परिसरमा ओली र लेखकविरुद्ध जाहेरी दर्ता गर्न पुगेको थियो। तर प्रहरीले उक्त जाहेरी तत्काल दर्ता गर्न अस्वीकार गरेको थियो।
यसबीच, प्रधानमन्त्री सुशीला कार्कीले सोमबार राति आफ्नै निवास बालुवाटारमा गृहमन्त्री ओम प्रकाश अर्यालसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग आकस्मिक बैठक गरेकी थिइन्।
बैठकमा प्रहरी अधिकारीहरूले यस्तो संवेदनशील विषयमा केन्द्रीय सुरक्षा समितिको लिखित निर्देशन र आदेश आवश्यक पर्ने बताए। उनीहरूले तत्काल जाहेरी लिँदा अन्य नेताहरूविरुद्ध पनि राजनीतिक र कानुनी नजिर बस्ने जोखिम रहेको उल्लेख गरे।
गृह मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री अर्याल भने तत्काल कारबाहीको पक्षमा थिए। स्रोतका अनुसार, ‘उहाँ (गृहमन्त्री अर्याल) ले मंगलबार नै पक्राउ गर्न मिल्दैन ? भनेर प्रहरीलाई सोध्नुभएको थियो, तर स्पष्ट जवाफ आएको छैन।’
बैठकमा सहभागी एक उच्च सुरक्षा अधिकारीका अनुसार, चारै सुरक्षा निकायले देशको शान्ति–सुरक्षा अवस्था संवेदनशील भएकाले संयम अपनाउनुपर्ने सल्लाह दिएका थिए।
त्यसैगरी, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पनि प्रधानमन्त्री कार्कीसँगको भेटमा ‘गोली चलाउनेहरूलाई नछोड्न’ आग्रह गरेको बताइएको छ।
गृह मन्त्रालयका स्रोतका अनुसार, पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन पर्खनुपर्ने वा तत्काल कारबाही अघि बढाउने भन्ने विषयमा अहिलेसम्म ठोस निर्णय भएको छैन।
स्रोतका अनुसार, ‘गृहमन्त्री आफैँ पक्राउको पक्षमा सक्रिय छन्, तर मंगलबारसम्म त्यसमा निर्णय हुन सकेन।’
प्रतिक्रिया