काठमाडाैं- गठनको एक सातापछि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले पूर्णता पाएको छ।
भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आइतबार पाँच नयाँ मन्त्रीको नाम राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि मन्त्रिपरिषद् नौ सदस्यीय बनेको हो।
नयाँ मन्त्रीहरूमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा उद्योग र कानुन मन्त्रालय, नवप्रवर्तनका क्षेत्रमा ख्यातिप्राप्त महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सञ्चारकर्मी जगदीश खरेल सञ्चार मन्त्रालय, स्वास्थ्य सेवामा अनुभवसहितकी संगीता कौशल मिश्र स्वास्थ्य मन्त्रालय र मदन परियार कृषि मन्त्रालय।
अनिलकुमार सिन्हा कानुन, उद्योग–वाणिज्य र भूमि सुधारसम्बन्धी जिम्मेवारी सम्हाल्नेछन्।
महावीर पुनले ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा विस्तारका लागि राष्ट्रिय स्तरमा काम गरिसकेका छन्। जगदीश खरेल इमेज टेलिभिजनमा समाचार सम्पादकको रूपमा सक्रिय छन्। संगीता कौशल मिश्र स्वास्थ्य विभागमा १२ तहसम्म सेवा दिएकी पूर्वकर्मचारी हुन्। मदन परियार राज्य पुनर्संरचना आयोगका पूर्व संयोजक हुन्। उनी संयोजक रहँदा संघीय संरचनामा ११ प्रदेशको खाका तयार पारेको थियो।
यसअघि अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन्।
प्रधानमन्त्री कार्की चुनावी प्रयोजनका लागि गठित अन्तरिम सरकारको नेतृत्वमा छन्।
जेनजी आन्दोलनपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि नयाँ सरकार गठन भएको हो। फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको म्यान्डेटसहित नयाँ सरकार कार्यभारमा आएको थियो।
प्रतिक्रिया