काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा महावीर पुन सहभागी हुने भएका छन्।
प्रधानमन्त्रीसँगको छलफलपछि पुन मन्त्री बन्न सहमत भएका हुन्। उनलाई विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ। तर शिक्षा मन्त्रालय पनि सोहीसँग जोडिएको हुँदा, शिक्षा समेत जिम्मा दिने वा नदिने भन्नेबारे टुंगो लागिसकेको छैन।
पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन्।
नेपालका ग्रामीण क्षेत्रमा ताररहित इन्टरनेट सेवा पुर्याउने पहलका लागि उनले रोमन म्यागासेसे पुरस्कार प्राप्त गरेका थिए।
यसपटक मन्त्रिपरिषद्मा एक जना दलित समुदायको प्रतिनिधित्व हुने गरी मन्त्री नियुक्त गर्ने तयारी पनि भएको छ।
हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद्ले काम गरिरहेको छ। विस्तारका लागि गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल सक्रिय छन्।
प्रधानमन्त्री कार्की भदौ २७ गते जेनजी आन्दोलनपछि नियुक्त भएकी थिइन्। गत आइतबार तीन मन्त्री नियुक्त गरी पहिलो मन्त्रिपरिषद् बैठक बसेको थियो।
प्रतिक्रिया