+
Search

ताजा अपडेट +

पपुलर +

जेन-जी आन्दोलन :

बर्दघाट नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीले नै गरे आगजनी

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा भदौ २३–२४ गते जेनजी आन्दोलनका क्रममा जनप्रतिनिधि र कर्मचारीले नै आगजनी र तोडफोड गरेको पाइएको छ।

पालिका लाइभ
२०८२ आश्विन २, बिहीबार

काठमाडाैं– पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी नै आगजनी र तोडफोडमा संलग्न भएको पाइएको छ।

नगरपालिका स्रोतका अनुसार, वडा नं ४ का दुई र वडा नं १५ का एक जना वडा सदस्यसहित पाँच कर्मचारीको गतिविधि भिडियोमा स्पष्ट देखिएको छ।

यो घटनामा संलग्न व्यक्तिहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको नगरपालिकाले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले मेयर शम्भुलाल श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए।

उनले भने, ‘भिडियोमा केही जनप्रतिनिधि र केही कर्मचारीको अनुहार देखिएको छ। म यहाँ धेरै दिनदेखि आएको होइन, छानबिन समितिको सिफारिस अनुसार प्रमाण भेटिए कारबाही हुनेछ।’

मेयर श्रेष्ठले थप भने, ‘तोडफोड र आगजनीमा संलग्न जनप्रतिनिधिहरूको सबै सेवा सुविधा बन्द गर्ने र कर्मचारीलाई नगरपालिकाबाट हटाउने तयारी भइरहेको छ।’

नगरपालिकाका प्रवक्ता सन्तबहादुर गाहले भने संलग्न जनप्रतिनिधि र कर्मचारीको नाम हाल सार्वजनिक गरिएको छैन र अनुसन्धान प्रक्रिया जारी रहेको कारण प्रमाण भेटिएपछि मात्रै कारबाही गरिने बताए ।

प्रमुख कार्यकारी अधिकृत पौडेलका अनुसार, आगजनी र तोडफोडबाट नगरपालिकालाई करिब तीन करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक आंकलन गरिएको छ। उनले भने, ‘क्षतिको पूर्ण विवरण अहिले तयारी अवस्थामा छ, प्रमाण पुष्टि भएपछि मात्र सम्पूर्ण विवरण सार्वजनिक गरिनेछ।’

घटनामा संलग्न व्यक्तिहरूको जिम्मेवारी पुष्टि भएपछि नगरपालिकाले कडा कदम चाल्ने तयारीमा रहेको जनाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ