+
Search

ताजा अपडेट +

पपुलर +

जेनजी आन्दोलनका मृतकलाई सहिद घोषणा गरिने, परिवारलाई १० लाख

पालिका लाइभ
२०८२ भाद्र २९, आईतवार

काठमाडौं– जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ। प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले औपचारिक जानकारी दिँदै आन्दोलनमा ज्यान गुमाउनेलाई शहीद घोषणा गर्ने र उनका परिवारलाई आर्थिक राहत उपलब्ध गराउने सरकारको निर्णय सुनाएका हुन्।

मुख्यसचिव अर्यालका अनुसार मृत्यु हुनेमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन्। आन्दोलनका क्रममा अहिलेसम्म १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन्। घाइतेमध्ये धेरैजना अझै अस्पतालमा उपचाररत छन् भने केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध युवाहरू भदौ २३ गतेदेखि सडकमा उत्रिएपछि देशभर आन्दोलन चर्किएको थियो। प्रहरीसँग भिडन्त, तोडफोड, आगजनी र नियन्त्रण बाहिरको भीडका कारण धेरै स्थानमा ठूलो मानवीय क्षति भएको छ। आन्दोलनकै क्रममा विभिन्न ठाउँमा आगलागी हुँदा मानिसहरूको ज्यान गएको छ भने जलेका भवन र संरचना सफा गर्ने क्रममा अझै शव फेला पर्न सक्ने अनुमान गरिएको छ। आज बिहान मात्रै चाबहिल चुच्चेपाटीस्थित भाटभटेनी नजिक ६ जनाको शव भेटिएको छ।

मृतकहरूको सबैको औपचारिक सनाखत हुन सकेको छैन। परिवारजनलाई शव बुझाउने काम कठिन बनेको छ। प्रहरीले डीएनए परीक्षणमार्फत पनि शव पहिचान गर्ने तयारी गरिरहेको छ।

सरकारले आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गर्दै उनीहरूको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेलगत्तै मन्त्रिपरिषद्बाट पारित उक्त निर्णयमा हस्ताक्षर गरेकी हुन्। यससँगै सरकारको तर्फबाट मृतकका परिवारलाई सम्मानित ढंगले सहयोग गर्ने आश्वासन दिइएको छ।

राजनीतिक दलका नेताहरू, नागरिक समाज र विभिन्न संगठनहरूले आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सरकारले जिम्मेवारीपूर्वक घटना छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग गरेका छन्। साथै, घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न र आन्दोलनले उठाएको मागलाई सम्बोधन गर्न सरकारलाई दबाब बढ्दै गएको छ।

यसबीच, आन्दोलनमा संलग्न युवाहरूले आफ्नो अभियान जारी रहने चेतावनी दिएका छन्। उनीहरूले आन्दोलन कुनै दल वा समूहको नभई भ्रष्टाचारविरुद्ध, स्वतन्त्र अभिव्यक्तिका पक्षमा र पुस्ताको भविष्य सुरक्षित गर्न भएको बताएका छन्।

देशभर चर्किएको जनभावना र बढ्दो दवावबीच सरकारले शहीद घोषणा र राहतको घोषणा गरे पनि आन्दोलनको ताप घट्ने वा अझ बढ्ने भन्ने प्रश्न भने अझै अनिश्चित बनेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ