वीरगन्ज– जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीका कारण पर्साको वीरगन्ज महानगरको भवन तथा सवारीसाधनमा ठुलो धनजनको क्षति पुगेको छ। प्रदर्शनकारीले महानगर परिसरमा रहेका साना–ठुला आधा दर्जन भवन र डेढ दर्जनभन्दा बढी सवारीसाधनमा आगजनी गरी नष्ट पारेका छन्।
महानगरका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख सुनिलकुमार कर्णका अनुसार महानगरको परिसरभित्र रहेका करिब सबै भवन जलेर प्रयोग अयोग्य भएका छन्।
उनका अनुसार छ वटा भवनमध्ये अधिकांश जलेर नष्ट भएका कारण महानगरको नियमित कार्य सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको छ। साथै अराजक समूहले कार्यालयका महत्त्वपूर्ण कागजातहरू पनि जलाएर खरानी बनाइदिएपछि सेवा प्रवाह अझ चुनौतीपूर्ण बनेको छ।
आगो नियन्त्रणमा आए पनि क्षतिग्रस्त क्षेत्रको सरसफाइ कार्य भने निरन्तर भइरहेको छ। महानगरका सरसफाइ कर्मचारीहरूले परिसर वरपर सफाइको काम अघि बढाइरहेका छन्। तर प्रशासन प्रमुख कर्णका भनाइअनुसार महानगरका शाखा तथा महाशाखाका लगभग सबैजसो कागजात, फर्निचर, कम्प्युटर, प्रिन्टर, हार्डड्राइभलगायतका उपकरण चोरी र आगजनी दुवैका कारण हराएका वा नष्ट भएका छन्।
उनले सबै पुनः व्यवस्था गरी कार्यालयलाई पुरानै अवस्थामा फर्काउन अझै लामो समय लाग्ने बताए।
महानगरमा भएका क्षतिबारे उनले थप जानकारी दिँदै प्रदर्शनकारीले १३ वटा सवारीसाधन र सात वटा मोटरसाइकलमा आगजनी गरेको उल्लेख गरे। उनका अनुसार गत मंगलबार दिउँसो साढे १२ बजेदेखि सुरु भएको आक्रमण र आगजनीका कारण महानगरको करिब ९५ प्रतिशत संरचना नष्ट भएको छ।
यस्तै महानगरको यान्त्रिक महाशाखाका प्रतिनिधि जयराम महतोले पनि १३ वटा सवारीसाधन जलेर नष्ट भएको पुष्टि गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट ल्याइएको एउटा गाडी, एक जना ठेकेदारको गाडी तथा तीन वटा विद्युतीय रिक्सा जलेर नष्ट भएको जानकारी दिए।
उनले सवारीसाधन जल्नाले मात्र करिब आठ करोड रुपैयाँ बराबरको क्षति भएको दाबी गरे।
यसैबीच, नगरप्रहरीले महानगरबाट लुटपाट गरी लैजाने सामान फिर्ता ल्याउने अभियान अघि सारेको छ।
बिहीबारदेखि सुरु भएको अभियानअन्तर्गत हालसम्म हार्डडिस्क नौ थान, कन्भर्टर तीन थानसहित टेबल, कुर्सी र अन्य फर्निचर बरामद गरिएको छ।
प्रतिक्रिया